ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित तेम्बा बजारमा मंगलबार राति भएको आगलागीबाट झण्डै सवा करोड मूल्य बराबर क्षति भएको प्रारम्भिक तथ्यांक संकलन भएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँका अनुसार आगलागीबाट १ करोड १९ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार तेम्बाका इन्द्रबहादुर लिम्बूको काठको बेरा र जस्तापाताको छाना भएको ढुंगा माटाले बनेको तीन तले घरसहित अन्नपात, लत्ताकपडा, गरगहना र अलैंची सहित गरी ४३ लाख मूल्य बराबरको क्षति भएको छ। उनको बिक्रीका लागि ठिक्क पारिएको २५ मन अलैंची समेत जलेको छ।
यस्तै राजकुमार लिम्बूको तीन तले घर, लत्ता कपडा, सुनचाँदी, अन्नपात, भाडा वर्तन र मोटरसाइकल समेत जल्दा ५० लाख मूल्य बराबरको क्षति भएको विवरण संकलन भएको छ। अनिल लिम्बूको तीन तले घर, घरभित्रको अन्नपात, लत्ता कपडा, भाडा वर्तन, सुनचाँदी र पशुपंक्षी समेत गरी २० लाख मूल्य बराबरको क्षति भएको विवरण संकलन भएको छ।
यस्तै विष्णुप्रसाद लिम्बूको काठको बेरा भएको ढुंगा माटोले बनेको एक तले घर र घरमा रहेका काठपात, लत्ता कपडा, भाडा वर्तन र बहुमूल्य सामग्री समेत गरी ६ लाख मूल्य बराबरको क्षति भएको छ भने घर अगाडि पार्किङ गरिएको मे १ ज ३००३ नम्बरको महेन्द्र म्याक्स गाडीको बर्नटको बाया साइटमा सामान्य तथा ग ३ च ९८४७ नं. को महेन्द्रा बोलेरो जीपको बाँया साइटको भागमा सामान्य क्षति भएको स्थलगत विवरण संकलन भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
गए राति साढे ११ बजे देखि सुरु भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी समेतको सहयोगमा बुधवार बिहान साढे ५ बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागी कसरी भयो भन्ने विषयमा प्रहरीले केही नबताए पनि स्थानीय गजेन्द्र थलङले भने अगाडि रोकेर राखेको बाइकमा अचानक आगलागी भई सोही आगोले ४ घरमा क्षति गरेको जानकारी दिएका छन्।
प्रकाशित: ३ मंसिर २०८२ १३:४१ बुधबार





