भाद्र शुक्ल तृतीयाको सङ्घारमा फेरि एकपटक सहरका गल्लीदेखि गाउँका मझेरीसम्म रातो रङको लहर छाएको छ। रातो सारी, पोते, हरियो धागो, छमछमी बज्ने चुरा र सिन्दूरले सजिएका अनुहारहरूमा तीजको चमक प्रस्टै देखिन्छ।
वर्षभरिको व्यस्तता, घरायसी उल्झन र कामको थकानलाई पन्छाउँदै दिदीबहिनीहरू माइतीको आँगनमा भेला भएका छन्। मादलको खरी र तालीको तालसँगै पुराना स्मृतिहरू ब्युँझिएका छन्, विरहका भाकाहरूमा मनका भारी पोखिएका छन् र केही क्षणका लागि भए पनि जीवनले आफ्नै पुरानो लय समातेको भान भएको छ।
तर, बाहिर जतिसुकै उज्यालो देखिए पनि यस पटकको तीजको रातो रङभित्र देशको पीडा र शोकको कालो छाया पनि बाक्लो गरी मिसिएको छ।
देशका कतिपय बस्तीहरू बाढी, पहिरो र प्राकृतिक विपत्तिको चपेटामा परेर उजाडिएका छन्। कतिपय घरका आँगनहरू पहिरोले बगाएको छ भने कतिपय गाउँमा तीजका गीत घन्किनुपर्ने समयमा सन्नाटा छाएको छ। कतिपय आमाहरूको निधारमा रातो अक्षताभन्दा आँसुको धारा गाढा भएको छ।
एकातिर विपत्ति, मृत्यु र विस्थापनले सिङ्गो राष्ट्र शोकमा डुबेको छ भने अर्कातिर चाडपर्वको परम्परा धान्नैपर्ने बाध्यता छ। यस्तो संवेदनशील घडीमा उत्सव मनाउनु र देशको सामूहिक पीडालाई महसुस गर्नुबीचको द्वन्द्वले हरेक सचेत नागरिकको मन भारी बनाएको छ।
वास्तवमा तीज केवल निराहार व्रत बस्ने वा गहना र कपडा प्रदर्शन गर्ने दिन मात्र होइन। यो त नेपाली समाजमा नारी अस्तित्व, संघर्ष र सम्बन्धको एउटा लामो ऐतिहासिक आख्यान हो। जहाँ पुस्तौँदेखि हाम्रा आमा-बज्यैहरूले घर-परिवारका कठोर सीमाभित्र गुम्स्याइएका आफ्ना रोदन, विभेद र पीडालाई भाकामा हालेर सार्वजनिक गर्ने गर्थे। छोरीहरूले ती गीत सुन्दै समाजको बनोट बुझे र आफ्ना भावनालाई दबाउन सिके। समाजले पनि त्यसलाई ‘संस्कार’ को आवरण दिएर पुस्तान्तरण गरिरह्यो।
तर, समय सधैँ एउटै रेखामा हिँड्दैन। हिजोका हाम्रा आमाहरूको समय र आजका छोरीहरूको समयबीच केवल वर्षहरूको मात्र अन्तर छैन, चेतनाको विशाल खाडल पनि छ। हाम्रा आमाहरूले तीजलाई जसरी आँसु र मौन समर्पणको पर्व बनाए, आजका पुस्ताले त्यसलाई जस्ताको त्यस्तै अन्धानुकरण गर्नुपर्छ भन्ने छैन।
हाम्रा अग्रज महिलाहरूले चुपचाप अन्याय सहनुलाई ‘धर्म’ र ‘सतीत्व’ ठानेका थिए, तर आजको पुस्ताले सामाजिक विसंगति र विभेदमाथि प्रश्न उठाउन सक्नुपर्छ। उनीहरूले आफ्ना सम्पूर्ण इच्छा, चाहना र अस्तित्वलाई परिवारको खुसीको वेदीमा बलि चढाए, तर आजका नारीले आफ्ना सपना, आत्मसम्मान र पहिचानलाई जीवनको अभिन्न हिस्सा मान्न सक्नुपर्छ। परम्पराको जगेर्ना गर्नु भनेको विगतका सबै कुरीति र कमजोरीहरूलाई पूजा गर्नु किमार्थ होइन।
म तीज संस्कृतिको विरोधी होइन। बरु तीजभित्र लुकेको आत्मीयता, माइती र चेलीबीचको अटुट स्नेह, दिदीबहिनीहरूको सुखदुःख साटासाट गर्ने चौतारी र पुर्खादेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक स्मृतिको पक्षधर हुँ। तर, कुनै पनि परम्परा त्यतिबेला मात्र सुन्दर र सार्थक हुन्छ, जब त्यसले नारीलाई भय वा बन्धनमा राख्दैन, बरु स्वतन्त्रताको आकाश दिन्छ। जसले अन्धविश्वासको त्रास देखाउँदैन, बरु अपनत्व र प्रेमको अनुभूति गराउँछ। जसले प्रश्नहरूलाई निमोठ्दैन, बरु विवेक र चेतनालाई फराकिलो बनाउँछ।
तीजको व्रत बस्नु कसैको व्यक्तिगत आस्था र श्रद्धाको विषय हो भने त्यसको निसंकोच सम्मान हुनुपर्छ। तर, व्रत नबस्नु वा आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनु कसैको व्यक्तिगत छनोट हो भने त्यसलाई पनि उत्तिकै आदर गरिनुपर्छ। नारीले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नु प्रेमको सुन्दर अभिव्यक्ति हुन सक्छ। तर त्यही नारीले आफ्नै दीर्घायु, असल स्वास्थ्य, स्वावलम्बन, सामाजिक प्रतिष्ठा र समृद्ध भविष्यका लागि कामना गर्दा त्यसलाई स्वार्थ देख्ने पितृसत्तात्मक चस्मा अब बदलिनै पर्छ।
आज हामीसँग शिक्षा छ, चेतना छ, विचार अभिव्यक्ति गर्ने माध्यमहरू छन् र आफ्नो जीवनको फैसला आफैँ गर्ने सामर्थ्य पनि छ। त्यसैले अब तीजका गीतहरूमा केवल सासू-बुहारीको झगडा वा विरहको रुञ्चे स्वर मात्र होइन, सामाजिक रूपान्तरण, लैङ्गिक समानता र स्वाभिमानको बुलन्द आवाज पनि घन्किनुपर्छ। आँसु पोख्न माइती नै पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै ती आँसु जन्माउने संरचनात्मक विभेदहरूमाथि प्रहार गर्ने विवेक हामीमा पलाउनुपर्छ।
यस वर्ष हाम्रो देश राष्ट्रिय संकट र शोकमा छ। यस्तो अवस्थामा तीजका नाममा महिनौँ अघिदेखि हुने भड्किला ‘दर पार्टी’, सुन र महँगा पहिरनको अस्वस्थ प्रतिस्पर्धा अनि सामाजिक सञ्जालमा देखिने अतिरञ्जित प्रदर्शन कति मानवीय र शोभनीय छन् ? यो प्रश्न आज हामी प्रत्येकले आफ्नै मनलाई सोध्नुपर्ने बेला आएको छ।
पर्व मनाउनु हाम्रो मौलिक अधिकार र संस्कृति हो, तर छिमेकीको आँगनमा पहिरो खसेर चुलो बल्न नसकेका बेला आफ्नो आँगनमा कानै फुट्ने गरी डिजे बजाएर नाच्नु कुनै पनि अर्थमा संस्कृति हुन सक्दैन। अरूको घाउमा नुन छर्कने गरी उत्सव मनाउनु संवेदनहीनता हो। विपत्तिमा परेका दाजुभाइ-दिदीबहिनीहरूको पीडा देखेर आफ्नो उत्सवलाई केही संयमित र सादगीपूर्ण बनाउनु कुनै कमजोरी होइन, बरु यो हाम्रो उच्च मानवीय मूल्य र नारीसुलभ करुणाको प्रमाण हो।
त्यसैले यस पटकको तीजमा गरगहना र पहिरनको चमकभन्दा हाम्रो सहानुभूतिको गहिराइ ठूलो बन्नुपर्छ। होटलका महंगा भोजभन्दा राहत कुरिरहेका पीडितहरूतर्फ लम्किने सहयोगका हातहरू लामा हुनुपर्छ। किनकि तीजको वास्तविक सौन्दर्य रातो सारीको फेरमा मात्र होइन, अप्ठ्यारोमा परेका दिदीबहिनीहरूको हात समात्न सक्ने संस्कारमा जीवित रहन्छ।
यो तीजमा यस्तो एउटा दृश्य देख्न पाइयोस्, जहाँ छोरीले आफ्नी आमाको हात समातेर सहज रूपमा सोध्न सकोस्, ‘आमा, हजुरले जीवनभर हामी र परिवारका लागि त धेरै गर्नुभयो, तर आफ्नो खुसीका लागि कहिल्यै केही सोच्नुभयो ?’ अनि वर्षौँदेखि समर्पणको मौनतामा बाँचिरहेकी आमाले पनि आँखामा नयाँ चमक ल्याउँदै भन्न सकून्, ‘छोरी, मैले कर्तव्य त पूरा गरेँ, तर अबका दिनमा म आफ्ना बाँकी सपनाहरू पनि पूरा गर्न चाहन्छु।’
यदि हामीले हाम्रा घरभित्र यस्तो चेतनाको संवाद सुरु गर्न सक्यौँ भने त्यो दिन तीज केवल एउटा पर्वमा सीमित रहने छैन, त्यो पुस्तौँदेखि दमित नारी आत्माको सुन्दर मुक्ति बन्नेछ। हामीले संस्कार छोड्नु हुँदैन, तर संस्कारलाई विवेकको कसीमा घोट्नुपर्छ।
हामीले संस्कृति भुल्नु हुँदैन, तर त्यसमा समानता, न्याय र मानवीयताको उज्यालो थप्नुपर्छ। परम्पराको जरा जोगाउँदै गर्दा त्यसमा पलाउने नयाँ विचारका पालुवाहरूलाई फुल्न दिनुपर्छ। संस्कृति कुनै संग्रहालयमा सजाइएको निर्जीव काठको मूर्ति होइन, यो समाजसँगै गतिशील हुने जीवित चेतना पनि हो।
एउटी नारीको सौभाग्य केवल सिउँदोको सिन्दूर वा हातका चुरामा मात्र सीमित छैन। उनको वास्तविक सौभाग्य त उनको सुरक्षित जीवन, आत्मसम्मान र अधिकारसम्पन्न अस्तित्वमा छ। एउटी आमाको सार्थकता केवल सन्तान जन्माउनु र हुर्काउनुमा मात्र छैन, समाजमा एउटा स्वतन्त्र नागरिकका रूपमा बाँच्न पाउनुमा पनि छ।
यस वर्षको हरितालिका तीजमा रातो पहिरनसँगै हामी मनमा मानवीय संवेदना पनि धारण गरौँ। विपद्मा परेकाहरूको आँसु पुछ्दै, एक-अर्काको आत्मसम्मानको रक्षा गर्दै यो पर्वलाई सार्थक बनाऔँ।
विपत्तिमा परेका सम्पूर्ण परिवारहरूलाई यो कठिन समय सामना गर्ने धैर्य र शक्ति मिलोस्। श्री पशुपतिनाथले सिङ्गो देश र सम्पूर्ण नेपालीको कल्याण गरून्। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनी तथा प्रियजनहरूमा आत्मसम्मान, सुख, शान्ति र प्रगतिको हार्दिक मंगलमय शुभकामना !
प्रकाशित: २८ भाद्र २०८३ १७:०३ आइतबार





