अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (NNSM) ले आयोजना गरेको ‘स्वदेश फिर्ती र पुनःएकीकरण’ विषयक राष्ट्रिय परामर्श बैठकमा वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी कामदारहरू सामाजिक लान्छनाका कारण पुनःएकीकरणमा गम्भीर अवरोध भोगिरहेको तथ्य सार्वजनिक भएको छ।
२०८२ साल पौष ४ गते आयोजित उक्त परामर्श बैठक एम्स्टर्डम विश्वविद्यालय तथा सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (CESLAM) को सहकार्यमा Reintegrate परियोजनाअन्तर्गत सम्पन्न भएको हो। परियोजनाको तर्फबाट विद्यावारिधि शोधार्थी रोजिका महर्जनले ‘फर्किएका आप्रवासी कामदारहरूको लान्छनाको पहिचान र सम्बोधन: नेपालको पुनःएकीकरण शासन व्यवस्थामा संलग्न सरोकारवालाहरूको अन्तरदृष्टि’ विषयमा अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
काठमाडौंदेखि धनकुटासम्म गरिएको अध्ययन
अध्ययन काठमाडौं, धनकुटा र उदयपुरको त्रियुगा नगरपालिका तथा साँगुरीगढी क्षेत्रमा गरिएको थियो। मार्चदेखि डिसेम्बर २०२३ सम्मको अवधिमा गरिएको अध्ययनमा वैदेशिक रोजगारीबाट फर्किएका ५४ जना श्रमिकसँग गहिरो अन्तर्वार्ता तथा संघ, प्रदेश र स्थानीय तहका ४२ जना सरोकारवालासँग अन्तरक्रिया गरिएको थियो।
अध्ययनले वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी कामदारहरूसँग जोडिने लान्छनात्मक भाष्यहरू पहिचान गर्दै ती भाष्यहरूले समाजमा उनीहरूको पुनःएकीकरण प्रक्रियामा कसरी अवरोध सिर्जना गर्छन् भन्ने विषयलाई विश्लेषण गरेको छ।
तीन प्रमुख लान्छनात्मक भाष्य
अध्ययनअनुसार नेपालमा फर्किएका आप्रवासी कामदारहरू मुख्यतः तीन प्रकारका लान्छनाको सामना गरिरहेका छन्।
पहिलो, ‘श्रमिक’ वा ‘मजदुर’ भन्ने लान्छनात्मक भाष्य हो, जसले खाडी मुलुक र मलेसियाबाट फर्किएकालाई अदक्ष, असक्षम र निम्नस्तरको काम गर्ने समूहका रूपमा चित्रण गर्छ। विदेशमा राम्रो पद र तलबमा काम गरेर फर्किएकाहरूको अनुभवसमेत नकारात्मक रूपमा मूल्याङ्कन गरिने प्रवृत्ति रहेको अध्ययनले देखाएको छ।
दोस्रो, ‘बिग्रेको आईमाई’ भन्ने लैंगिक लान्छनात्मक भाष्य हो, जुन विशेषगरी महिला आप्रवासी कामदारसँग जोडिएको छ। विदेशमा रहँदा नैतिक रूपमा ‘खत्तम’ भएको, यौनजन्य शोषण वा अनैतिक काममा संलग्न भएको अनुमानका आधारमा उनीहरूलाई परिवार र समाजले शंका, अविश्वास र बहिष्करणको दृष्टिले हेर्ने गरेको अध्ययनमा उल्लेख छ।
तेस्रो, ‘पागल’ अर्थात् मानसिक रूपमा अस्थिर भन्ने लान्छनात्मक भाष्य हो, जसले वैदेशिक रोजगारीका क्रममा दुर्व्यवहार, आघात र मानसिक पीडा भोगेर फर्किएकाहरूलाई खतरनाक वा असामान्य रूपमा चित्रण गर्छ। यसले उनीहरूको मानसिक स्वास्थ्य सेवामा पहुँच र सामाजिक स्वीकारोक्तिमा थप अवरोध सिर्जना गरिरहेको अध्ययनको निष्कर्ष छ।
लान्छना घटाउने आशालाग्दा अभ्यास
अध्ययनले लान्छना न्यूनीकरणका लागि केही सकारात्मक अभ्यासहरू पनि पहिचान गरेको छ। सरोकारवालाहरूले ‘श्रमिक’ शब्दको सट्टा ‘वैदेशिक रोजगारीबाट फर्किएका कामदार’ वा ‘फर्किएका आप्रवासी’ जस्ता लान्छनारहित शब्द प्रयोग गर्न थालेका छन्।
यसैगरी, फर्किएका आप्रवासी कामदारहरूको पहिचान र वर्गीकरण प्रक्रियालाई थप समावेशी बनाउने अभ्यास अघि बढाइएको छ। उदाहरणका लागि, धनकुटा नगरपालिकाले कागजातका कडा मापदण्ड हटाएर लाभग्राही पहिचानमा लचिलो स्क्रिनिङ प्रक्रिया अपनाएको छ, जसले विशेषगरी महिला फर्किएका कामदारलाई पुनःएकीकरण सहयोगमा पहुँच बढाएको छ।
त्यसैगरी, फर्किएका आप्रवासी कामदारहरूको सञ्जाल र समूह निर्माण लाई लान्छना घटाउने रणनीतिका रूपमा अघि बढाइएको छ। यस्ता सञ्जालले सामूहिक पहिचान, अपनत्वको भावना र साझा उद्देश्य निर्माण गर्न सहयोग पुर्याएको अध्ययनले देखाएको छ।
नीतिगत सुधारको खाँचो
अध्ययनले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई ‘समस्या’ का रूपमा होइन, अनुभव, सीप र सम्भावना बोकेका नागरिक का रूपमा हेर्ने दृष्टिकोण विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ। लान्छनात्मक भाष्यहरूलाई चुनौती दिने नीतिगत र सामाजिक हस्तक्षेप बिना दिगो पुनःएकीकरण सम्भव नहुने निष्कर्ष अध्ययनले निकालेको छ।
प्रकाशित: ४ पुस २०८२ १७:३४ शुक्रबार





