नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै पुनः बन्द भएको छ। तीन दिनपछि बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको नाका शुक्रबार बिहानैदेखि फेरि ठप्प भएको हो।
बिहीबार रातभर परेको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट आएको खोल्साको भेलले सडक बगाएपछि सीमा नाकाबाट हुने आवतजावत पूर्ण रूपमा रोकिएको हो। स्थानीय प्रशासनका अनुसार खोल्साको पानी सडकमै पस्दा सडक पुनः क्षतिग्रस्त बनेको छ।
सडक डिभिजन कार्यालय चरिकोटले मर्मत सम्पन्न गरेपछि बिहीबार साँझदेखि सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याएको थियो। सडक खुलेलगत्तै ३५ वटा कन्टेनर सीमा पार गर्न सफल भएका थिए। तर इको क्षेत्रमा सडक फेरि भासिएपछि नाका पुनः बन्द गर्नुपरेको हो।
यस वर्ष मनसुन ढिलो सुरु भएकाले असार २७ गतेसम्म कोदारी सडक नियमित सञ्चालनमा थियो। तर पछिल्ला दुई दिनको लगातार वर्षाले लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै वर्षेनी जोखिममा पर्ने इको क्षेत्रमा सडक भासिने समस्या फेरि दोहोरिएको छ। उक्त क्षेत्रमा सडक भासिएर भोटेकोशी नदीतर्फ झर्ने समस्या प्रत्येक वर्ष दोहोरिने गरेको छ।
सडक डिभिजन कार्यालय चरिकोटका फिल्ड इन्जिनियर सुरेन्द्र सिंहका अनुसार इको क्षेत्रमा माथिबाट झर्ने खोल्साको पानी र तलबाट बग्ने भोटेकोशी नदीको कटानका कारण वर्षा हुनासाथ सडकमा समस्या उत्पन्न हुने गरेको छ।
इको क्षेत्रको पहिरो नियन्त्रणका लागि चीन सरकारको सहयोगमा दीर्घकालीन योजना अघि बढाइएको भए पनि चालु मनसुनभर निर्माण कार्य सुरु नहुने निश्चित भएको छ। नेपाल र चीन सरकारबीच दुई चरणका सम्झौता सम्पन्न भइसकेका छन् भने अब कार्यान्वयन सम्झौता मात्रै बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
बर्खा सकिएलगत्तै चिनियाँ निर्माण कम्पनी तातोपानी आएर पहिरो नियन्त्रणको स्थायी काम सुरु गर्ने तयारी रहेको पनि कार्यालयले जनाएको छ।
सडक पुनः अवरुद्ध भएपछि खासामा नेपाली व्यापारीका लसुन, ओखर, फलफूल, रेडिमेड सामग्री तथा विभिन्न जलविद्युत् आयोजनाका उपकरण बोकेका कन्टेनर रोकिएका छन्। नाका बन्द हुँदा ट्रान्सपोर्ट व्यवसायीले अतिरिक्त लागत व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यता, वर्षापछि उर्लिएको भोटेकोशी नदीले तातोपानी भन्सार यार्डमा समेत कटान सुरु गरेको स्थानीयले बताएका छन्, जसले सीमा क्षेत्रको पूर्वाधारमा थप जोखिम बढाएको छ।
प्रकाशित: १ श्रावण २०८३ १६:०३ शुक्रबार





