सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
आइतबार बिहान करिब २ः३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाएपछि रत्नावती र खाङसाङ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा तीन महिलाको शव फेला परेको र चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी बिजय श्रेष्ठले जानकारी दिए।
घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार चालक ओखलढुंगा निवासी २९ वर्षीय आशिष बिष्ट बेहोस अवस्थामा छन्। खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर छ। उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक बोल्न सक्ने अवस्थामा छन्।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्। उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली परिचालन गरिएको छ। प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्यसँगै दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले सुमो सुनकोसिमा आधा डुबेको अबस्थामा देखिएको जानकारी दिए। उनका अनुसार खोज तथा उद्दारमा प्रहरी सहित स्थानिय जुटेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी श्रेष्ठका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी छ। प्रहरीले बेपत्ताको खोजी तथा घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको जनाएको छ।
प्रकाशित: २ कार्तिक २०८३ ०६:३४ आइतबार





