१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

विश्व रेडियोग्राफी दिवसमा वाकाथन र गोष्ठी

सरकारी रेडियोग्राफी संघ नेपाल तथा मेडिकल इमेजिङ टेक्नोलोजी स्टुडेन्ट्स सोसाइटी (एमआईटीएसएस) ले आज विश्व रेडियोग्राफी दिवस मनाएको छ। कार्यक्रममा वाकाथनसहित नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज (एनएएमएस) मा अन्तर्क्रिया तथा जागरण कार्यक्रम सम्पन्न गरिएको थियो।

स्वास्थ्य सेवा संस्थान, शैक्षिक क्याम्पस तथा विभिन्न डायग्नोष्टिक केन्द्रका रेडियोग्राफर तथा मेडिकल इमेजिङ टेक्नोलोजीका विद्यार्थीहरूको सहभागिता रहेको वाकाथनले सुरक्षित, गुणस्तरीय र बिरामी–केन्द्रित सेवा (पेसेन्ट–सेन्टर्ड केयर) को महत्वबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो।

कार्यक्रममा उपस्थित सरकारी रेडियोग्राफी संघ नेपालका अध्यक्ष दामोदर रोक्का ले भने, ‘रेडियोग्राफर र मेडिकल इमेजिङ टेक्नोलोजी पेसाकर्मीहरू स्वास्थ्य सेवाको आधार स्तम्भ हुन्। रेडियोग्राफरहरु केवल उपकरण प्रयोगकर्ता होइनन्, उनीहरु बिरामीको सही पहिचान र स्वास्थ्य सेवाको महत्त्वपूर्ण साझेदार हुन्।’

उनले अगाडि भने, ‘विश्व रेडियोग्राफी दिवस केवल उत्सव होइन, यो प्रविधि, सुरक्षा र गुणस्तरीय बिरामी सेवा प्रति हाम्रो जिम्मेवारीको स्मरण हो। आजको कार्यक्रमले हामीलाई सिकाउँछ कि प्राविधिक दक्षता र बिरामी सेवा सँगै हुँदा मात्र स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तन सम्भव हुन्छ। हाम्रो लक्ष्य सबै बिरामीलाई सुरक्षित, गुणस्तरीय र समयमा उपचारयोग्य सेवा उपलब्ध गराउनु हो। यसमा रेडियोग्राफरको भूमिका अनिवार्य छ। रेडियोग्राफी पेसामा निरन्तर शिक्षा, अनुसन्धान र नवप्रवर्तनले मात्र हाम्रो स्वास्थ्य प्रणाली सुदृढ र विश्व स्तरीय बन्न सक्छ।’ 

एनएएमएस मा सम्पन्न औपचारिक कार्यक्रममा वक्ताहरूले रेडियोग्राफी व्यवसायको भूमिकालाई आधुनिक स्वास्थ्य सेवा प्रणालीमा अपरिहार्य रहेको उल्लेख गर्दै, रेडिएसन सुरक्षा, गुणस्तर मापदण्ड तथा प्राविधिक दक्षता निरन्तर विकास गर्नुपर्ने आवश्यकता औँल्याए। विश्व रेडियोग्राफी दिवस हरेक वर्ष नोभेम्बर ८ मा एक्स–रेको आविष्कारकर्ता विल्हेल्म कोनराड रोएन्टजेन द्वारा सन् १८९५ मा गरिएको खोजको स्मरणमा विश्वभर मनाइन्छ। यस दिवसले रेडियोग्राफर तथा मेडिकल इमेजिङ पेसालाई बिरामी सेवा प्रवर्द्धनका अग्रपंक्तिमा रहेको व्यवसायको रूपमा सम्मानित गर्दछ।

प्रकाशित: २२ कार्तिक २०८२ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App