११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

नयाँ वर्षमा ताल-टिपताला भञ्ज्याङ पर्यटन प्रवर्धन भ्रमण कार्यक्रम हुँदै

कोशी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ओलाङचुङगोला-सिङ्जेमा ताल-टिपताला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।  

टिपताला नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्र हो। ताप्लेजुङ सरोकार केन्द्रका महासचिव अशोक प्यासी राईका अनुसार २०८२ साल चैत २८ देखि २०८३ वैशाख ६ गतेसम्म कार्यक्रम सञ्चालन हुने छ। सांस्कृतिक, प्राकृतिक र धार्मिक हिसाबले महत्त्वपूर्ण मानिएको क्षेत्रको भ्रमण पर्यटन प्रवर्द्धन कार्यक्रममा सहभागी भइदिन सरोकार केन्द्रले आह्वान गरेको छ। 

कार्यक्रम संयोजक मिङ्मा डण्डु लामाका अनुसार काठमाडौंबाट धरान-वसन्तपुर-तीनजुरे-गुफा-मिल्के-साँघु-दोभान-फुङलिङ-तापेथोक-लेलेप-ओलाङचुङगोला-टिपताला-सिङ्जेमा तालसम्मको भ्रमण दूरी तय गरिएको छ। भ्रमणमा सहभागी हुन चाहनेलाई चैत २० गते भित्र सम्पर्क राख्न ताप्लेजुङ सरोकार केन्द्रले आग्रह गरेको छ।  

कार्यक्रममा काठमाडौंबाट सहभागी हुनेले जनही ३० हजार, धरानबाट सहभागी हुनेले २५ हजार र ताप्लेजुङबाट सहभागी हुनेले १५ हजार रुपैयाँ शुल्क तिनुपर्नेछ। उक्त शुल्क सहभागीको यातायात, आवास तथा खाना खर्चको रूपमा रहने समेत सरोकार केन्द्रले जनाएको छ।  

कोशी पर्यटन भ्रमण वर्ष २०८२ तथा कोशी प्रदेश सरकारसँग समेत समन्वय गरी उक्त कार्यक्रम आयोजना गरिएको सरोकार केन्द्रले जानकारी दिएको छ। सरोकार केन्द्र र समाज दुबैले ताप्लेजुङका आवश्यकता, सम्भावना र समस्याहरूको पहिचान गरी समस्या समाधान गर्न पैरवी तथा अगुवाई गर्ने सहितका कार्य गर्दै आएका छन्।  

नयाँ बर्ष २०८३ लाई ताप्लेजुङको अद्धितीय महत्व बोकेका स्थलहरुमा समर्पण गरी अवलोकन भ्रमणका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने हिसाबले कार्यक्रम आयोजना गरिएको सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङको भनाइ छ।

प्रकाशित: ११ चैत्र २०८२ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App