स्याङ्जाको नवग्रह मन्दिर पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित हुन थालेको छ।
स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको यो मन्दिर धार्मिक पर्यटनको गन्तव्यको रूपमा स्थापित हुन थालेको हो।
केही वर्ष अघिसम्म सामान्य ठाउँका रूपमा रहेको यो ठाउँ अहिले नवग्रह मन्दिर बनेसँगै धार्मिक पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। स्याङ्जाको हेलुबाट ७ किलोमिटर पश्चिम रहेको यो मन्दिरमा हरेक शनिबार ५ हजार भन्दा धेरै पर्यटक पुग्ने गरेका छन्। कहिलेकाहीँ त १२ हजारसम्म भक्तजन पुग्ने गरेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए।
आठ हेक्टर क्षेत्रफलमा धार्मिक वनभित्र निर्माण गरिएको नवग्रह मन्दिर समुन्द्री सतहभन्दा एक हजार २४ मिटरको उचाइमा छ। नव भुजायुक्त संरचनामा तयार गरिएको यो मन्दिर नवग्रहको विधिवत् पूजा हुने पहिलो शक्ति पीठ पनि हो।
यहाँ २७ फिट अग्लो नवग्रह मन्दिरसँगै नवभुज स्तम्भ, ग्रह यन्त्र, षट्कोण शिवालय, पञ्चमुखी शिव लिङ्गलगायत निर्माण गरिएका छन्। षट्कोणको बिच भागमा पञ्चमुखी शिवलिङ्ग राखिएको छ भने अन्य कोणहरूमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गा भवानीको मूर्ति छ।
मन्दिरका ९ वटा भुजा रहने पिल्लरमा ९ वटा ग्रहहरु सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनी, राहु र केतुका प्रतीक राखिएका छन् भने त्यसमाथि नवभुज आकारको १४ फुटको पिल्लर बनाइएको छ।
पिल्लरको सबैभन्दा माथि सूर्यतर्फ फर्किएको सौर्यमण्डलीय ग्रहको प्रतिमा राखिएको छ। त्यसबाहेक मन्दिर परिसरमा नवग्रहको चिनारी, कुन ग्रह र राशीसँग कुन रुख बिरुवाको मेल खान्छ भन्ने जानकारीसहित राशी अनुसारको रुख, बिरुवाहरू रोपिएका छन्। त्यस्तै, धार्मिक वन क्षेत्रमा १०८ वटा पिपलसमेत रोपिएका छन्।
पूर्वाधार निर्माणसँगै धार्मिक पर्यटकको आगमन बढेको गाउँपालिका अध्यक्ष तिवारीको भनाई छ। यसको प्रवर्द्धन गर्न सके यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्ने उनले बताए। उनले भने,‘गाउँपालिकाको एकल जोडबलमा पूर्वाधार खडा गरेका छौँ, अब यसको प्रवर्द्धन गर्दै पर्यटनमार्फत विकास र समृद्धि हासिल गर्न सकिन्छ।’
मन्दिरका पुजारी तीलक देवकोटाले नवग्रह मन्दिर सञ्चालनमा आएपछि मुक्तिनाथ मन्दिर, बागलुङ कालिका मन्दिर र मनकामना मन्दिर जाने धार्मिक पर्यटकहरू नवग्रह मन्दिरमा समेत आउने गरेको बताए।
अहिले मलमास चलिरहेकाले भक्तजनको आगमनमा कमी आएको बताउँदै उनले भने,‘मन्दिर बनेसँगै पर्यटकको संख्या ह्वात्तै बढेको छ। मलमास सकिए लगत्तै भक्तजनको संख्या बढ्छ भन्ने विश्वास छ।’
नेपाल पर्यटन बोर्डका लेखा अधिकृत युवराज गुरुङले नवग्रह धार्मिक पर्यटनको हब बन्न सक्ने बताए। ‘यहाँ पूर्वाधार निर्माण भइसकेको छ’,उनले भने,‘अब प्रवर्द्धनमा हामी सघाउँछौँ।’
उनले पूर्वाधार निर्माणपछिको प्रवर्द्धनले परिणाम आउने बताए। ‘पूर्वाधार निर्माण नै नगरी प्रवर्द्धनमा जोड दिँदा परिणाम आउँदैन’,उनले भने,‘तर धेरैजसोले पूर्वाधार निर्माण नगरी पर्यटन प्रवर्द्धन गर्नुपर्यो भन्नुहुन्छ, त्यसले परिणाम दिँदैन। त्यसैले यहाँ पूर्वाधार निर्माण भइसकेकाले अब प्रवर्द्धन गर्दा परिणाम आउँछ।’
पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले नवग्रहलाई पर्यटकीय गन्तव्यहरूको सूचीमा सूचीकृत गरिनुपर्ने बताए। यसले पर्यटकलाई आकर्षित गर्ने बताउँदै उनले भने,‘पोखराका विन्ध्यबासिनी, पुम्दीभुम्दीस्थित महादेव मन्दिर, नारायणस्थानसहित मुस्ताङको मुक्तिनाथ, गोरखाको मनकामना र स्याङ्जाको नवग्रह मन्दिरलाई एउटै धार्मिक–पर्यटकीय प्याकेजमा जोडेर अघि बढाउन सकेमा पर्यटन क्षेत्रले थप लाभ लिन सक्छ।’
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणीराज लामिछानेले नवग्रह मन्दिरलाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पर्यटन बोर्डले योजना बनाइरहेको बताए। त्यही योजना अन्तर्गत नवग्रह मन्दिरलाई गन्तव्य बनाएर चाँडै अल्ट्रा म्याराथन आयोजना गर्न लागेको बताउँदै उनले भने,‘त्यसको तयारीमै छौँ हामी। त्यसबाहेक अन्य प्रवर्द्धनात्मक काम पनि गर्ने योजनामा बोर्ड छ।’
प्रकाशित: २६ जेष्ठ २०८३ १७:३७ मंगलबार





