२ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

माईखोलामा झोलुङ्गे पुलः स्थानीयवासी खुसी

इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न रु ८४ लाख ७१ हजार ४६० खर्च भएको छ।  

आर्थिक वर्ष २०८२/०८३ मा कोशी प्रदेश सरकारको लगानीमा १७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ। पूर्वाधार विकास कार्यालय, इलामका प्रमुख रञ्जय सिंहले  तिल्केनी-सिलपुर सडकअन्तर्गत पर्ने काइलाटारमा पुल निर्माण भएपछि यहाँका स्थानीय खुसी भएको जानकारी दिए।

पुल निर्माण भएसँगै राजदुवाली र सिमलगोलाईको बाटो घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन्। इलाम नगरपालिका-८ का सन्तोष गोलेले माईखोला वारिका बस्तीबाट पारि जान र पारिका बस्तीबाट वारि आउन झोलुङ्गे पुलले ठूलो सहयोग पुगेको बताए।

'हिउँदयाममा त खोला तरेर वारिपारि गर्न सहज नै हुन्थ्यो। तर वर्षायाममा त्यही नजिकै जान पनि कि त राजदुवाली, कि त सिमलगोलाईको बाटो घण्टौँ समयको घुमेर जानुपर्दथ्यो', उनले भने, 'अब त्यो समस्याबाट मुक्त भएका छौँ।' झोलुङ्गे पुल बनेपछि त्यस क्षेत्रमा घुमघाम गर्न, टिकटक बनाउन र तस्बिर खिचाउन आउने मानिसको सङ्ख्या बढ्दै जान थालेको उनले बताए।

मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि मोटरसाइकलमार्फत इलामतर्फबाट झापा जान र झापाबाट इलामतर्फ आउन सोही पुलको प्रयोग गर्न थालिएको इलाम नगरपालिका-८ का वडाअध्यक्ष दलमान तामाङले बताए।

'अहिले यही बाटो भएर दैनिक सयौँको सङ्ख्यामा मोटरसाइकल चल्न थालेका छन्', वडाध्यक्ष तामाङले भने, 'इलाम-राजदुवाली सडक बन्द रहेकाले सदरमुकामबाट मेची राजमार्ग जोड्ने सबैभन्दा छोटो दूरीको सडक यही भएकाले दुईचक्के सवारीका लागि यो सडक उपयुक्त विकल्प बनेको छ।'

तिल्केनी-सिमलगोलाईको बाटो लामो दूरीको भएकाले दुईचक्के सवारीसाधनलाई सो सडक वैकल्पिक सडकको रुपमा प्रयोगमा आएको उनको भनाइ छ। उक्त सडक मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-८ तिल्केनीबाट छुट्टिएर इलाम नगरपालिका-१० गोदकस्थित सिलपुरमा जोडिन्छ। रासस

प्रकाशित: २ भाद्र २०८३ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App