चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ। जेठ १ गतेदेखि सुरु गरिएको सर्वेक्षण हालै सम्पन्न भएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार बाघ गणनाको कार्य सम्पन्न भएपछि आहार प्रजातिको सर्वेक्षण गरिएको हो।
यसका लागि नौ वटा समूह गठन गरी २० दिनसम्म दुई वटा हात्ती प्रयोग गरिएको थियो। प्रत्येक हात्तीमा तीन जनाका दरले प्राविधिक जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए।
उनका अनुसार नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना गरिएका क्षेत्रमा करिब ४०० वटा ट्रान्जेक्ट (मार्ग) बनाएर आहार प्रजातिको सर्वेक्षण गरिएको थियो।
निकुञ्जको चुरे क्षेत्र तथा घाँसे मैदानमा तीनदेखि पाँच किलोमिटर दूरीलाई एक ट्रान्जेक्ट मानी सर्वेक्षण गरिएको थियो।
हात्तीमा चढेर प्रत्यक्ष अवलोकनका क्रममा देखिएका जनावरको अभिलेखीकरण गरी सर्वेक्षण गरिएको थापामगरले बताए। बाघका प्रमुख आहार प्रजातिमा जरायो, चितल, लगुना र रतुवा गरी चार प्रकारका मृग पर्छन्। यसका अतिरिक्त गौरीगाई, बँदेल, नीलगाई तथा बाँदर पनि बाघका आहार प्रजातिका रूपमा रहेका छन्।
सर्वेक्षण सम्पन्न भएसँगै प्राप्त तथ्याङ्कको विश्लेषण तथा अध्ययनको काम सुरु गरिएको निकुञ्जले जनाएको छ।
प्रकाशित: २२ जेष्ठ २०८३ १४:०५ शुक्रबार





