सर्वोच्च अदालतले नियमित सुनुवाइ आइतबारदेखि गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि आइतबारदेखि नै दर्ता गर्ने जनाएको छ ।
भदौ २३ र २४ मा भएका घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूलाई श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
सर्वोच्चले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा सर्वोच्चसहित देशभरका अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट हुँदा भवन, उपकरण, सवारीसाधन तथा ऐतिहासिक दस्तावेजहरूमा अकल्पनीय क्षति पुगेको उल्लेख गरेको छ ।
विशेषगरी नेपालको न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण अभिलेखहरू करिब नष्ट हुन पुगेकोप्रति अदालतले गहिरो पीडा प्रकट गरेको छ।
यस्तो विषम परिस्थितिमाझ पनि न्यायालयले संविधानले दिएको दायित्व निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्दै नागरिकको मौलिक हक र न्याय प्राप्त गर्ने अधिकार सुरक्षित गर्ने अठोट व्यक्त गरेको छ।
त्यस्तै, आगजनी र तोडफोडका क्रममा बचाइएका कागजात तथा भौतिक स्रोतसाधनको संरक्षणमा योगदान पुर्याउने न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, कानुन विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणप्रति अदालतले आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोगको अपेक्षा पनि गरेको छ।
प्रकाशित: २६ भाद्र २०८२ १९:५१ बिहीबार





