५ मंसिर २०८३ शनिबार
image/svg+xml
समाज

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ।  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा सूर्योदय नगरपालिकास्थित कन्याममा महोत्सव सुरु हुँदैछ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातारणमन्त्री खिनु लङ्वा (लिम्बू)ले गर्ने कार्यक्रम छ।  चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं १० नं वडाध्यक्ष पेमा उगेन लामाले बताए।

“चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको हो”, उनले भने, “यहाँ आन्तरिक र बाह्य गरी १० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। ”

आइतबारसम्म सञ्चालन हुने महोत्सवमा महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन्।

त्यस्तै स्थानीय खाद्य परिकारको कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, टेस्टिङ र बजारीकरणको व्यवस्था गरिने संयोजक लामाले बताए।

महोत्वमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ। पुरुषतर्फ कन्याममा १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ कन्याममै नौ किलोमिटर दूरीको टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ।

पुरुषतर्फ पहिलो हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाउनेछन्।

त्यस्तै महिलातर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेले रु पाँच हजार हजार नगद पुरस्कार पाउनेछन्।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय नगरपालिका वडा नं ७ कन्यामदेखि वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर ‘चिया पदमार्ग’ निर्माण भइरहेको छ। त्यसकै प्रचारप्रसारका लागि महोत्सव आयोजन गरिएको हो।

महोत्सव सञ्चालनका लागि करिब रु १५ लाख खर्च हुने अनुमान गरिएको छ। सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र हो।  चारैतिर हरियाली चियाबारीको बुट्यानले सजिएको कन्याममा वनभोज खान, घोडचढी गर्न, फोटो र भिडियो खिच्न एवं दृश्यावलोकनका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्दछन्।

रमणीय र प्राकृतिक सौन्दर्यको भरिपूर्ण उपहारको रूपमा रहेको कन्याम मेची राजमार्गको पहुँचमा भएकाले सहजै पुग्न सकिन्छ। झापाको चारआलीबाट मोडिएर लागेपछि करिब एक घण्टाको यात्रामा कन्याम पुग्न सकिन्छ।  

प्रकाशित: ५ मंसिर २०८३ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App