३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

पक्की भवन नहुँदा टहरामुनि पढ्छन् विद्यार्थी

सान्नीत्रिवेणी गाउँपालिका– ६ स्थित पञ्चदेवल माविमा अध्ययनरत विद्यार्थी आज पनि टिनको टहरामुनि सुकिला सपना बुनिरहेका छन्। हिउँदमा शरीर नै कपाउने जाडो। गर्मीमा तपतप तात्तिएर कक्षाकोठाभित्रै बस्न सकस। यस्तो कक्षाकोठामा विद्यार्थीले कसरी पढ्न सक्लान्?

विद्यालयमा पर्याप्त भवन अभाव हुँदा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थी अस्थायी टहरामै पढ्न बाध्य छन्। अझ बर्खामा पानी पर्दा टिन बजेर आउने आवाजले कक्षाकोठामा शिक्षकले पढाएको सुन्नै नसकिने अवस्था छ। भवन अभावका कारण टिनको टहरामा पढ्न बाध्य छन् यहाँका विद्यार्थी।

कक्षा २ देखि १० सम्मका विद्यार्थी टहरामुनि नै पढ्न बाध्य छन्। ‘सबै कक्षाका विद्यार्थीलाई बाहिर राखेर पढाउँदा हल्लाले प्रभावित हुन्छ।’ पञ्चदेवल माविका प्रधानाध्यापक हिरामणि सिम्खडा भन्छन्, ‘बर्खामा पनि समस्या उस्तै छ। घाम लाग्दा टिन तातिएर भित्र बस्नै सकिँदैन । बाहिर हावाहुरी र पानीले समस्या गर्छ।’

 उनले भने, ‘यस्तै समस्याले विद्यालयको पढाइ बिहानैदेखि सुरु गरेका छौं।’  विद्यालयले प्रकृतिअनुसारको पढाइ गर्न थालेको उनको भनाइ छ।

पञ्चदेवल माविमा अध्ययनरत विद्यार्थीले टिनको टहरामा प्रभावकारी सिकाइ हुन नसक्ने बताउँछन्। विद्यालयको तथ्यांकअनुसार हाल चार सय एकजना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा खानेपानी अभाव पनि उस्तै छ तर घेरबार नहुँदा पशुवस्तु विद्यालयमा छिर्छन्।

विसं २०१६ मा स्थापना भएको विद्यालयले बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालन गरेको छ। विद्यालयमा प्राविधिक धार, विज्ञान प्रयोगशालासमेत नियमित सञ्चालन हुने गरेको छ। पर्याप्त संरचना नबन्दा विद्यार्थी टिनको टहरामै पढ्न बाध्य छन्। तत्काल पक्की भवन निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्न सरकारसँग अभिभावकले आग्रह गरेका छन्।

सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले विद्यालयमा पक्की संरचना नभएको स्वीकारिन्।

 उनले भनिन्, ‘विद्यालयमा भवनका लागि धेरै बजेट आवश्यक पर्ने भएकाले गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्न नसकेको बताइन्। उनले आगामी दिनमा विद्यालयका लागि पालिकाले आवश्यक बजेट माग गरेर विद्यालय भवनको अवस्था सुधार गर्ने उनको भनाइ छ।  

प्रकाशित: १४ जेष्ठ २०८३ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App