गत सोमवार अर्थात् असोज ५ गते त्रिपुरेश्वरमा काभ्रेका २५ वर्षीय चालक अर्जुन दोङले ट्राफिक प्रहरीसँगको विवादपछि बसभित्रै आत्मदाह गरे। यसअघि असार २५ मा सोही क्षेत्रमा मुगुका २६ वर्षीय युवा पठाओ चालक गणेश नेपालीले पनि आफ्नै बाइकको पेट्रोल छर्केर आत्मदाह गरे। यी दुवै जनाको उपचारको क्रममा चौबीस घण्टा नबित्दै मृत्यु भयो। शरीरको ७० देखि १०० प्रतिशत भाग जलनमा परेपछि उनीहरूलाई बचाउन असम्भव भएको उपचारमा संलग्न अस्पतालले जनाएका थिए।
राहदानी विभागबाहिर बाइकमै आफैं बसेको बेला महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि विवाद बढेको थियो। आफ्नो समस्या सुनुवाइ नभएपछि नेपालीले प्रहरीकै सामु आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका थिए।
नेपालीको बाइकमा महानगर प्रहरीले बाइकमै बसेको बेला ह्विल लक गरेका थिए भने ट्राफिक प्रहरीले रिद्धिसिद्धि यातायातको बसबाट यात्रु ओरालेर बग्गीखाना पुर्याउन खोजेपछि दोङ कडा रूपमा प्रस्तुत भएका थिए। उनले आफूमाथि नियम उल्लंघन नभएको दाबी गरिरहेका थिए। प्रहरी पछि नहटेपछि उनले आत्मदाह गरेको भिडियो फुटेजमा देखिन्छ।
यी दुई उस्तै प्रकृतिका घटनाबाहेक गत असार २७ गते काठमाडौं बुद्धनगरका बस्ने ४५ वर्षीय अश्विन राउतले घरमै शरीरमा पेट्रोल छर्केर आत्महानीको प्रयास गरेका थिए। उनको पनि उपचारको क्रममा मृत्यु भएको थियो।
गत असार ३० गते रौतहट गरुडा–९ का २८ वर्षीय गौतमकुमार सहनीले पनि आत्मदाहको प्रयास गरेका थिए। उनको स्थानीय अस्पतालमा उपचार भएको थियो। त्यसको भोलिपल्ट असार ३१ गते सर्लाहीका ३५ वर्षीय युवा विवेककुमार मण्डलले आत्मदाह प्रयास गरेका थिए। उनलाई पनि उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। यही भदौ २३ गते माइतीघरमा लक्ष्मी बस्नेत नाम गरेकी महिलाले पनि आत्मदाहको प्रयास गरेकी थिइन्। उनलाई प्रहरीले तत्कालै उद्धार गरी उपचारमा पुर्याएको थियो।
घटनाको बढ्दो चक्र
चालु आर्थिक वर्षको असारदेखि यता मात्र उस्तै प्रकृतिका आत्महानीका घटना मात्र पाँच वटा देखिन्छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनाभित्र देशभरमा ११ सय ५४ जनाले आत्मदाह गरेका छन्। ती मध्ये चार जनाले आफैंलाई आगो लगाएर आत्मदाह गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ मा आत्मदाह गर्नेको संख्या सात हजार ५५ जना छन्। तीमध्ये १३ जनाले आत्मदाह गरेका थिए।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा आत्मदाह गर्नेको संख्या सात हजार ५५ जना छन्। आर्थिक वर्ष २०७९/८० मा आत्मदाह गर्ने ६ हजार नौ सय ७४ जना छन् भने २०७८/७९ मा ६ हजार सात सय ९२ जना छन्। यो तथ्यांक हेर्दा पछिल्लो समयमा आत्मदाहबाट मृत्यु हुनेको दर बर्सेनि सात हजारभन्दा बढी देखिन्छन्।
मानिसहरूमा निहित मानसिक समस्या, बेरोजगारी, प्रेममा असफलता, आर्थिक संकट, दीर्घरोग, अपांगता, लागुपदार्थ सेवन र विवाहइतर सम्बन्धका कारण मानिसहरू आत्मदाहमा पुग्ने गरेको नेपाल प्रहरीले जनाएको छ।
पछिल्लो समय आत्मदाह फरक शैलीमा देखिएको मनोचिकित्सक तथा मनोविद्हरू बताउँछन्। ‘यो वर्षको आत्मदाहको शैली हेर्दा अति वितृष्णामा पुगेको देखिन्छ, निराशापनको पराकाष्ठा हो’, काठमाडौं मेडिकल कलेजका वरिष्ठ मनोचिकित्सक डा. सरोजप्रसाद ओझाले भने।
वरिष्ठ क्लिनिकल साइकोलोजिस्ट डा. पशुपति महतको विचारमा चालक अर्जुन दोङको आत्मदाह तत्कालै आउने उत्तेजना र आवेगको शैलीमा छ। युवाहरूमा लुकेर रहेको वितृष्णाका कारण कठिन प्रकारको आत्मदाह गर्ने प्रवृत्ति बढेको महतको विश्लेषण छ।
पठाओ चालक गणेश नेपाली र रिद्धिसिद्धि बसका अर्जुन दोङको घटना उस्तै प्रकृतिको देखिए पनि उनीहरूभित्र रहेको वितृष्णा ट्राफिकसँग पुगेर आक्रोश पोखिन गएको महतले बताए।
ऐननियम पालना गराउँदा हुने स्थलगत अपमानजन्य व्यवहारले उस्तै प्रकृतिको घटना दोहोरिएको ओझाको भनाइ छ। आफैंमा वितृष्णा र तनावयुक्त दैनिकी गुजारिरहेका युवालाई नियम लागु गर्ने नाममा हुने सजायको शैली कडा लागेपछि उनीहरू आक्रोशमा पुग्ने गरेको ओझाले बताए। ‘हरेक नेपालीको दैनिकी कठिन बनिरहेको बखत चालकहरू अछुतो छैनन्, कम तलबमा काम, धेरै आम्दानी गरेर साहुलाई बुझाउनुपर्ने दबाब उनीहरूमा पनि छ, यसको परिणाम चालक–सहचालक उत्तेजित देखिए,’ ओझाले भने।
नेपाल प्रहरीले उनीहरूको मनोभाव बुझेर सजायमा विकल्प खोजेको भए मृत्युसम्म नपुग्ने चिकित्सकहरू बताउँछन्। ‘यसको सट्टा सिसिटिभी फुटेज हेरेर, प्रमाणको आधारमा डिजिटल प्रणालीबाटै जरिबाना तिराउन सकेको भए घटनाले यो रूप लिने थिएन,’ उनले भने।
दुवै घटना प्रहरीको अघि भएकाले संकेतबाटै बुझेर अबदेखि नियम पालना गर्ने निकाय संयम हुने स्थिति आएको ओझा बताउँछन्।
क्लिनिकल साइकोलोजिस्ट महतका अनुसार आत्मदाह दुईवटा अवस्थामा हुने गर्छ। एउटा तत्कालै उत्पन्न हुने आवेग, दोस्रो लामो समयदेखि मनोसामाजिक समस्याको सिकार बनेका मानिस, जो उपचारमा पुगेका हुँदैनन्। उनीहरूबाट कुनै समयमा गएर आत्मदाहको बाटोमा पुग्छन्।
उनका अनुसार ८० प्रतिशत आत्मदाह पहिल्यै मानसिक रोगका कारण हुन्छ भने बाँकी २० प्रतिशत तत्कालै आउने आवेगका कारणले हुन्छ। उनको बुझाइमा रिद्धिसिद्धिका चालक दोङको आत्मदाहको शैली पनि उत्तेजनायुक्त देखिन्छ। ऐननियम पालना गराउने क्रममा स्थलगत रूपमै हुने अपमानले पनि उनीहरूमा थप उत्तेजना वृद्धि हुँदा यस्तो घटनामा पुग्छन्। ‘कतिपय बेला आवेग प्रदर्शन गर्दा अर्को पक्षबाट समयमै समस्या सम्बोधन नभएमा पनि आत्मदाह गर्न पुग्छन्,’ उनले भने।
पछिल्लो समय युवाहरूले सोचेको जीवनभन्दा भोगाइ र यथार्थ फरक हुँदा पनि उनीहरू समस्यामा परेका छन्। बढ्दो बेरोजगारी, मूल्यवृद्धि, बदलिँदो सामाजिक परिवेश, सबै स्थिति कष्टपूर्ण बन्दै गएको परिणाम बहुसंख्यक नागरिक मनोसामाजिक समस्यामा परिरहेको ओझा बताउँछन्। ‘नागरिकहरूमा देशविहीनताको सोच आएको देखिन्छ, देशमै असुरक्षा महसुस गरेपछि मानिसहरू निराशातर्फ बढेको देखिएको हो,’ उनी बताउँछन्।
पछिल्लो समय राज्यको गैरजिम्मेवारी र मिडियाका कारणले पनि यस्तो भइरहेको छ। ‘नीति–नियम लागु गराउने निकायको जरिवाना गर्ने शैली र मिडियाले मानसिक समस्या भएका व्यक्तिहरूलाई आवेगमा आउने गरी सामग्री सम्प्रेषण गरिरहेका छन्। जसका कारण पछिल्लो समय उस्तै शैलीका घटनाहरू बढेका हुन्।
तनावमा युवा र बालबालिका
महतका अनुसार पछिल्लो समयमा बदलिँदो जीवनशैली, पारिवारिक विखण्डन र वैदेशिक रोजगारीले मनोसामाजिक समस्या वृद्धि भएको र यस्ता व्यक्तिको समयमै उपचार हुन नसकेका व्यक्तिहरू पनि आत्महानी गर्न पुगेको देखिन्छ।
प्रकाशित: १४ आश्विन २०८३ १२:२४ बुधबार





