सिद्धार्थ राजमार्गमा रातीमा सवारी साधन चलाउन रोक लागेको छ । अविरल वर्षासँगै पहिरोको जोखिम बढेकाले पोखराको छोरेपाटनबाट स्याङ्जा हुँदै सिद्धार्थ राजमार्गमा रातको समयमा सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालय कास्कीले रोक लगाएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही समय गण्डकी प्रदेशका विभिन्न ठाउँमा भारी तथा मध्यम वर्षा हुनसक्ने अनुमान रहेकाले सुरक्षा सतर्कता अपनाई मानवीय तथा भौतिक क्षेत्री न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जासँगको समन्वयमा सूचना जारी गरिएको कास्की प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले सो रुटमा आकस्मिक सवारी साधनबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले जानकारी दिइन् । बैठकले सो रुटमा लामा सवारी साधनका लागि अपराह्न ४ बजेपछि र साना सवारी साधनका लागि अपराह्न ५ बजेपछि सञ्चालनमा रोक लगाएको उनले बताइन् । यद्वपी अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न सकिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार दिउँसो जारी गरेको सूचनामा भनिएको छ,‘कास्की जिल्लाबाट स्याङ्जा हुँदै सिद्धार्थ राजमार्ग भई चल्ने अत्यावश्यक सेवा बाहेकका लामो दूरीका सवारी साधनहरु मिति २०८२/०४/०४ गते साँझ ४ र छोटो दूरीका सवारी साधनहरु साँझ ५ बजेपछि प्रस्थान विन्दु (कास्की जिल्लाको छोरेपाटन) बाट गन्तव्य स्थानका लागि सञ्चालन नगर्नु, नगराउनुहुन अनुरोध गरिन्छ ।’
प्रशासनले अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालन गर्नुपर्ने भएमा भने सुरक्षा निकायसँग समन्वय गरेर मात्रै सञ्चालन गर्न पनि आग्रह गरेको छ ।
कास्कीका घान्द्रुक, सिक्लेस र ताङतिङ पनि राती जान रोक
प्रशासनले कास्कीका प्रमुख पर्यटकीय गन्तव्यहरू घान्द्रुक, सिक्लेस र ताङतिङ पनि रातीमा जान रोक लगाएको छ । लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरोको जोखिम देखिएपछि प्रशासनले रातीको समयमा ती गन्तव्यहरूमा जान रोक लगाएको हो।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कास्कीको विरेठाँटीदेखि उल्लेरी, घान्द्रुक, लुम्लेदेखि लान्द्रुक, पोखराको काहुँखोलादेखि सिक्लेस र ताङतिङ जाने बाटोमा रातीको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको बताइन् । यी बाटाहरूमा निगरानीसमेत बढाइएको बताउँदै उनले भनिन्,‘यी गन्तव्यमा जाने मोटर बाटो बाढी र पहिरोको जोखिम भएकाले रातको समय सवारी चलाउन लगाइँदै आएको रोकलाई निरन्तरता दिइएको छ ।’
उनका अनुसार सिक्लेस र घान्द्रुकलगायतका क्षेत्रमा असार २५ गतेदेखि नै र अन्य क्षेत्रमा असार ३१ गतेदेखि साँझ ५ बजेभित्र गाडी छुटिसक्नुपर्ने नियम बनाइएको छ । बिहान पनि ५ बजेदेखि मात्रै सवारी साधन सञ्चालनको अनुमति दिइएको उनले बताइन्।
पर्यटक एवम् पदयात्रीको सुरक्षाका लागि रातको समयमा सवारी साधन चलाउन रोक लगाइएको सिडिओ शर्माले बताइन् । शर्माका अनुसार पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकका लागि कोत्रे, लामेआहाल, तालचोक र बिजयपुरमा डोजर र इन्जिनियरसहित अलर्ट अवस्थामा राख्न निर्देशन दिइएको छ भने पोखरा–बागलुङ सडक, सिद्धार्थ राजमार्गको छोरेपाटन कुभिण्डे खण्ड र बेगनासताल–भोर्लेटार सडकमा पनि अलर्ट अवस्थामा निर्देशन दिइएको छ ।
प्रकाशित: ४ श्रावण २०८२ १७:०५ आइतबार





