सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका खुशी खातुनको हत्या भएको घटनामा प्रहरीले उनकी सौतेनी आमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी रूपक खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालिकाको हत्यामा सौतेनी आमाको संलग्नता देखिएको हो।
आइतबार बिहान घरबाट हराएकी खुशीको करिब दुई घण्टापछि घर पछाडिको झाडीमा शव फेला परेको थियो। प्रहरीले शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ।
प्रहरीका अनुसार शवमा बाहिरी घाउचोट देखिएको छैन भने घटनामा एक जनाको मात्रै संलग्नता देखिएको छ। स्थानीयका अनुसार मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका लागि कतारमा छन्। परिवारमा जेठी र कान्छी पत्नीबीच लामो समयदेखि विवाद हुँदै आएको बताइएको छ।
घटनापछि स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गर्दै रुपनी बजारमा प्रदर्शन गरेका थिए। केही समय बजार तथा राजमार्गसमेत अवरुद्ध भए पनि अहिले अवरोध हटिसकेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रकाशित: ७ भाद्र २०८३ १९:३६ आइतबार





