२७ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

सोफी मोर्गनको नेपाल यात्रा : समावेशी पर्यटनको सम्भावनाबारे छलफल

बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरोकारवालाबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताएकी छन्।

काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित 'जर्निज विथआउट ब्यारियर्स: सोफी मोर्गन इन नेपाल' कार्यक्रममा मोर्गनले आफ्नो हालैको नेपाल यात्राका अनुभव सुनाउँदै अपाङ्गता भएका पर्यटकका लागि नेपालका पर्यटन अनुभवलाई थप पहुँचयोग्य बनाउन सकिने उपायबारे आफ्ना धारणा राखेकी हुन्।

इम्प्याक्ट एड्‌भेन्चरसँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले आयोजना कार्यक्रममा पर्यटन व्यवसायी, सरकारी प्रतिनिधि, होटल तथा आतिथ्य क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा अपाङ्गता र पहुँचयोग्यताका क्षेत्रमा कार्यरत अभियन्ताहरूको सहभागिता थियो।

मोर्गनले हालै इम्प्याक्ट एडभेन्चरसँग काठमाडौं, पोखरा र उपल्लो मुस्ताङको यात्रा गरेकी थिइन्। साहसिक पर्यटक र ह्विलचेयर प्रयोगकर्ता दुवैका रूपमा गरिएको यस यात्राले यातायात, आवास, पर्यटन अनुभव, पूर्वाधार र आतिथ्य सेवामा पहुँचयोग्यताको अवस्थाबारे प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको थियो।

आफ्नो यात्राबारे चर्चा गर्दै मोर्गनले नेपालका मानिसहरूको आत्मीयता र यहाँको संस्कृति नेपालको सबैभन्दा ठूलो शक्तिमध्ये एक भएको बताइन्। उनले भनिन्, 'नेपालमा यस्ता यात्राहरू सम्भव बनाउने क्षमता छ, जुन अपाङ्गता भएका धेरै व्यक्तिले आफ्नो पहुँचभन्दा बाहिरको कुरा ठानेका हुनस क्छन्। यो यात्राभर मलाई सबैभन्दा बढी प्रभावित गरेको कुरा यहाँका मानिसहरूको आत्मीयता, सद्भाव र आतिथ्य भाव हो। त्यो भावना नेपालको ठूलो शक्ति हो। यसलाई अझ राम्रो पहुँचयोग्यता, भरपर्दो सूचना र स्पष्ट योजनासहित अघि बढ्ने हो भने नेपालले अपाङ्गता भएका पर्यटकलाई साँच्चिकै असाधारण यात्रा अनुभव प्रदान गर्न सक्छ।'

संवादका क्रममा मोर्गनले पहुँचयोग्य पर्यटनको जिम्मेवारी व्यक्तिगत पर्यटन व्यवसाय वा टुर अपरेटरको मात्र हुन नसक्ने बताइन्। यसका लागि सरकार, पर्यटन व्यवसाय, निजी क्षेत्र र स्थानीय अपाङ्गता समुदायबीच समन्वय र सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो। उनले थपिन्, 'पहुँचयोग्य पर्यटन व्यक्तिगत टुर अपरेटरहरूको मात्र जिम्मेवारी हुन सक्दैन। यसका लागि पर्यटन क्षेत्र, सरकार, व्यवसाय र स्थानीय अपाङ्गता समुदायले मिलेर पहुँचयोग्य पूर्वाधारमा लगानी गर्न, नियमित रूपमा अपाङ्गता सचेतना तालिम सञ्चालन गर्न र संरचनागत अवरोधहरू हटाउन आवश्यक छ। नेपालसँग पहुँचयोग्य पर्यटनलाई एउटा सीमित वा विशिष्ट बजारका रूपमा मात्र नभई पर्यटक, व्यवसाय र समुदाय सबैलाई लाभ पुर्‍याउन सक्ने समग्र पर्यटन क्षेत्रको अवसरका रूपमा हेर्नुपर्दछ।'

छलफलमा पहुँचयोग्यता भौतिक पूर्वाधारमा मात्र सीमित नहुने विषयमा जोड दिइएको थियो। मोर्गनले भनिन्, 'मेरो लागि पहुँचयोग्यता अन्ततः स्वतन्त्रता, आफ्नो निर्णय आफैं गर्ने अधिकार र छनोटसँग सम्बन्धित छ- अर्थात् आफ्नै सर्तमा सहभागी हुन सक्ने क्षमता। सबै भौतिक अवरोध रातारात हटाउन सम्भव नहुन सक्छ, तर स्पष्ट, विस्तृत र इमानदार सूचना उपलब्ध गराउँदा अपाङ्गता भएका पर्यटकले आफूले के अपेक्षा गर्ने भन्ने बुझ्न र आफ्नै निर्णय लिन सक्छन्। कहिलेकाहीँ राम्रो सूचना उपलब्ध गराउनु नै यात्रालाई थप समावेशी बनाउने सबैभन्दा सरल र प्रभावकारी कदममध्ये एक हुन सक्छ।'

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले मोर्गनको नेपाल यात्राले विश्‍वभरका फरक क्षमता भएका पर्यटकहरूलाई प्रेरित गरेको बताए। उनले थपे, 'नेपालको कास्कीमा पहिलो प्रमाणित पहुचयोग्य गन्तव्यको रुपमा विकास गरिएको छ। बोर्डले यस्ता गन्तव्य पहिचान गर्दै पूर्वाधार निर्माणमा पनि पहल गरिरहेको छ। गन्तव्यको योजनालाई थप समावेशी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न बोर्ड तयार छ।'

इम्प्याक्ट एडभेन्चरका प्रमुख कार्यकारी अधिकृत पंकज प्रधानाङ्गले मोर्गनको नेपाल यात्रा र यस कार्यक्रमको उद्देश्य नेपालको पर्यटन उद्योगलाई थप समावेशी बनाउने विषयमा व्यापक संवाद अघि बढाउनुका साथै साहसिक पर्यटन र पहुँचयोग्यता एकअर्काका विरोधाभासी विषय नभएको सन्देश दिनु रहेको बताए।

अगस्ट ३० देखि सुरु भएको यात्रा सेप्टेम्बर ११, २०२६ सम्म काठमाडौं, पोखरा र उपल्लो मुस्ताङसम्म समेटिएको थियो। यस यात्राले नेपाललाई पहुँचयोग्य तथा समावेशी साहसिक पर्यटनको उदीयमान गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यससम्बन्धी कथा तथा अनुभव प्रस्तुत गर्नसमेत योगदान पुर्‍याउने विश्‍वास गरिएको छ।

प्रकाशित: २७ भाद्र २०८३ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App