स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलविद्युत् आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै डाँगीले उक्त लक्ष्य पूरा गर्न पर्याप्त आधार रहेको दाबी गरेका छन्। जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको बढ्दो लगानी, निर्माणाधीन आयोजना र नेपाली वित्तीय क्षेत्रको क्षमता हेर्दा सरकारको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ।
डाँगीका अनुसार हालसम्म नेपालमा करिब ४ हजार ३ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन्। तीमध्ये करिब ३ हजार ५ सय मेगावाट निजी क्षेत्रका आयोजना हुन्। यस्तै, करिब ६ हजार ४ सय मेगावाट क्षमताका आयोजना अहिले निर्माणाधीन अवस्थामा छन्।
निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाबाट करिब १० हजार ५ सय मेगावाट विद्युत् उत्पादनको आधार तयार भइसकेको भन्दै उनले बाँकी २० हजार मेगावाट उत्पादनका लागि निजी क्षेत्रका ठूला समूहहरू सक्रिय रहेको बताए।
‘पूर्ववर्ती सरकारले पनि २८ हजार ५ सय मेगावाटको लक्ष्य राखेको थियो। वर्तमान सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य पूरा गर्न सकिने आधार पर्याप्त छन्,’ डाँगीले भने।
उनका अनुसार जलविद्युत् विकासको सुरुवाती चरणमा १–२ मेगावाटका आयोजना निर्माण गर्नसमेत वित्तीय स्रोत जुटाउन कठिन हुने अवस्था थियो। तर अहिले नेपाली वित्तीय स्रोतबाटै ४ सय ४० मेगावाटसम्मका आयोजनाको वित्तीय व्यवस्थापन हुन थालेको उनले बताए।
नेपालमा जलविद्युत् क्षेत्रमा अहिले करिब ५८ वटा ठूला समूहले लगानी तथा योगदान गरिरहेको उल्लेख गर्दै डाँगीले ती समूहले आगामी १० वर्षमा औसत ४–५ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्न सके बाँकी २० हजार मेगावाटको लक्ष्य पूरा गर्न सकिने बताए।
‘निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाबाट करिब १० हजार ५ सय मेगावाट पुगिसकेको अवस्थामा बाँकी २० हजार मेगावाट उत्पादन गर्न निजी क्षेत्रका समूहहरूले सक्रिय रूपमा काम गर्ने हो भने १० वर्षमा ३० हजार मेगावाटको लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भने।
डाँगीले विद्युत् उत्पादनसँगै आन्तरिक खपत बढाउनुपर्नेमा पनि जोड दिए। हाल नेपालमा प्रतिव्यक्ति विद्युत् खपत करिब ४८० किलोवाट घण्टा रहेको उल्लेख गर्दै उनले आर्थिक वृद्धिका लागि यसलाई करिब तीन गुणाले बढाएर प्रतिव्यक्ति १ हजार ५ सय किलोवाट घण्टाको हाराहारीमा पुर्याउनुपर्ने बताए।
‘विद्युत् उत्पादन र खपत बढाउनु देशको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण छ। विद्युत् खपतलाई उल्लेख्य रूपमा बढाउन सके आर्थिक गतिविधि र आर्थिक वृद्धिमा ठूलो योगदान पुग्नेछ,’ उनले भने। सरकारले आगामी दिनमा बंगलादेशमा ५ हजार मेगावाट र भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको उल्लेख गर्दै डाँगीले उक्त लक्ष्य पूरा गर्न सके नेपालले ठूलो विदेशी मुद्रा आर्जन गर्न सक्ने बताए।
उनका अनुसार हाल करिब १२ हजार मेगावाट क्षमताका आयोजनाबाट विद्युत् निर्यात गर्दा २९ अर्ब ३१ करोड रुपैयाँ बराबरको आम्दानी भएको छ। यही अनुपातलाई आधार मान्दा १५ हजार मेगावाट विद्युत् निर्यात गर्न सके हालकै मूल्यमा करिब ३ सय ६६ अर्ब रुपैयाँ मुलुकमा भित्र्याउन सकिने उनले बताए।
जलविद्युत् क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै डाँगीले जलविद्युत् विकास रोक्ने नभई अझ तीव्र बनाउनुपर्ने बताए।
‘आज अब जलविद्युत् आयोजना बनाउने हो ररु भन्ने प्रश्न उठ्नु दुःखद् हो। देशको समृद्धिको आधार बन्न सक्ने जलविद्युत् क्षेत्रप्रति देखिएको यस्तो निराशा चिर्न सबै पक्ष मिलेर काम गर्न आवश्यक छ,’ उनले भने।
प्रकाशित: २७ भाद्र २०८३ ११:२६ शनिबार


-600x400.jpg)


