३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

बुवाको उपचार गराउन हिँडेका छोरा, दुर्घटनामा आफैं अस्ताए

जुम्लाबाट बिरामी बुवालाई थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा छोरा र चालकको मृत्यु भएको छ। दुर्घटनामा बिरामी बुवासहित दुई जना घाइते भएका छन्।

बुधबार राति पौने ८ बजे कालिकोटमा हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।

दुर्घटनामा जुम्लाको हिमा गाउँपालिका-७ पातरखोलाका ४१ वर्षीय भीमबहादुर अधिकारी र एम्बुलेन्स चालक सोही वडाको मर्चीगाउँका शक्तिबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको थियो।

कालिकोटका डीएसपी हिमबहादुर खत्रीका अनुसार बाक्लो हुस्सुका कारण सडक नदेखिँदा एम्बुलेन्स सडकबाट करिब २५ मिटर तल खसेको थियो। ‘गाडी चलाउन निकै असहज थियो, हुस्सु नै दुर्घटनाको मुख्य कारण हुन सक्छ,’ डीएसपी खत्रीले भने।

७१ वर्षीय बुवा कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चैत २० गतेदेखि भर्ना गरिएको थियो। छ दिनसम्म उपचार गर्दा पनि सुधार नभएपछि चिकित्सकले उनलाई युरो सर्जरीका लागि नेपालगन्ज रेफर गरेका थिए।

खराब मौसमका कारण हवाईजहाज नआएपछि भीमबहादुर अन्तिम विकल्पका रूपमा एम्बुलेन्स रिजर्भ गरेर दिउँसो २ बजे सुर्खेततर्फ लागेका थिए। यात्रा सुरु गर्नुअघि दिउँसो १ बजे उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘आज जुम्लादेखि सुर्खेत यात्रा शुभ रहोस्, जुम्लामा हवाईजहाज नआएर एम्बुलेन्समै लागियो।’

दुर्घटनामा परेर बिरामी कलबहादुर घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ भने थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

यस्तै, एम्बुलेन्समा सवार हिमा–७ मर्चीका २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

मृतक भीमबहादुर २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्य निर्वाचित भएका थिए। उनी गाउँका सक्रिय, विचारशील र समाजप्रति समर्पित अगुवा मानिन्थे।

दुर्घटनामा ज्यान गुमाएका अधिकारीको शव बिहीबार आफन्तले बुझिसकेका छन्। यस घटनाले सिङ्गो गाउँपालिका शोकमा डुबेको छ।

प्रकाशित: २६ चैत्र २०८२ १९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App