बाढी पहिरोले कालिगण्डकी करिडोरको बेनी–जोमसोम खण्ड छियाछिया बनाउँदा अघिल्लो महिना लामो समय सडक अवरुद्ध भयो।
त्यसले गर्दा मुस्ताङको कोरला नाका हुँदै भित्रिएका चिनियाँ सामाग्री भित्र्याउन व्यवसायीलाई सकस थपियो। लामो समय सडक अवरुद्ध हुँदा व्यवसायीले कतिपय सामाग्री बेलैमा ल्याउन सकेनन्। प्राकृतिक विपद्को मारमा पर्दा व्यवसाय नै प्रभावित भएको थियो।
यति बेला फेरि त्यही कोरला नाकाबाट हुने आयातलाई हिमपातले प्रभाव पारेको छ। अघिल्लो साताको हिमपातले बाक्लो हिउँ जमेकोले कोरला हुँदै भित्रिएका सामाग्रीलाई बजारसम्म पुर्याउन समस्या भएको छ।
कोरला नाकादेखि १४ किलोमिटर यता नेचुङ भन्सारसम्म बाक्लो हिउँ पर्दा नाका हुँदै भित्रिएका सामानलाई बजारसम्म ल्याउन अप्ठेरो परेको छ। हिउँ पन्छाउन समेत हम्मे हम्मे अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बाटोमा बाक्लो हिउँ जमेका कारण सवारी चलाउन हम्मे हम्मे भएको बताए।
‘सवारी नै गुडाउन नसक्ने गरी सडक पूर्ण रूपमा अवरुद्ध भएको त होइन, तर, सहज पनि छैन, हिउँ जमेकोले बाटोमा सवारी गुडाउन सकस थपियो,’ उनले भने।
उनका अनुसार साना आकारका सवारीलाई बाटोमा गुड्न बढी सकस छ। ‘चार–पाँच दिनदेखि लगातार रूपमा हिउँ हटाएका छौँ। तर पनि सहज भएको छैन,’ अध्यक्ष गुरुङले भने।
रसुवा–भोटेकोशी बाढीपछि नेपालको चीनसँगको व्यापारको एक मात्र विकल्प कोरला नाका बनेको थियो। तर, यो नाकालाई प्राकृतिक विपद्ले बारम्बार अप्ठेरोमा पारेको उनले सुनाए।
‘अहिले चिनियाँ सामान भित्र्याउने एक मात्र विकल्प कोरला नाका हो। तर, अघिल्लो महिनाको बाढी पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध हुँदा लामो समय भन्सारका सामान कोरला क्षेत्रमै रोकिए। अहिले फेरि हिमपातले प्रभावित भयो,’ उनले भने, ‘अहिले बाटो नै रोकिएको त होइन, तर, गाडी चल्न पनि सहज छैन।’
अध्यक्ष गुरुङका अनुसार उक्त क्षेत्रमा जमेको हिउँ पूर्ण रुपमा हटिसकेको छैन। बरफ बनेर जमेको हिउँमा सवारी चिप्लिएर सकस थपिएको उनले बताए।
‘अघिल्लो दिन हटायो, भोलिपल्ट फेरि हिउँ परिहाल्छ। त्यसले गर्दा सकस भएको हो,’ उनले भने।
अध्यक्ष गुरुङका अनुसार सुरक्षाकर्मी र स्थानीय तहको प्रयासमा हिउँ हटाउने काम निरन्तर चलिरहे पनि नसकेपछि चिनियाँसँग बुल्डोजर सहयोग मागिएको थियो। चिनियाँ पक्षबाट आएको बुल्डोजरले हिउँ हटाए पनि अझै पुरै नसकिएको उनले सुनाए।
उनका अनुसार भन्सार कार्यालयदेखि कोरला नाकासम्म १४ किलोमिटर दूरी छ। तर, बिचका ७ किलोमिटर खण्ड निकै नै सकसपूर्ण बनेको छ। हिउँ परेको छोटो समयमै जबरजस्ती गाडी चलाएकोले पनि अहिले हटाउन हम्मे हम्मे भएको उनले बताए।
‘हिउँ नहटाएसम्म गाडी नचलाउन भन्दा कसैले मानेनन्, चालकले जबरजस्ती गाडी चलाए। त्यही गाडीले पेलिएर हिउँ जम्यो, अहिले त्यही हिउँ चिप्लेर हैरानी थपिएको छ,’ अध्यक्ष गुरुङले भने।
कोरला नाकामा अहिले पनि साना विद्युतीय गाडी रोकिएका छन्। ती गाडीलाई पार गराउन पनि समस्या रहेको उनले बताए।
चिसो बढ्ने क्रममा रहेको र मौसम पनि त्यही अनुसार भएमा अबका दिनमा आयातमा अझै बढी हैरानी थपिने उनले बताए।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार हिमपातपछि माथिल्लो क्षेत्रमा गाडी गुडाउन सहज नभए पनि बाटो पूर्ण रूपमा अवरुद्ध भने नभएको बताए।
उनका अनुसार हिउँ हटाएर गाडीका लागि बाटो खुलाएको भए पनि हिउँमा गाडी चिप्लिने समस्या रहेको छ।
‘हिउँमा धुलो समेत मिसिएपछि निकै नै गाह्रो हुने रहेछ,’ उनले भने, ‘हिमपातपछि सुरुवाती केही दिन त निकै नै समस्या भयो। अहिले गाडी त गुडेका छन्। तर, सहज छैन।’
उनका अनुसार चिनियाँ सामान भित्र्याउनमा कुनै अप्ठेरो नपरोस् र हिमपातका कारण बाटो अवरुद्ध नहोस् भनेर माथिल्लो क्षेत्रमा हिउँ हटाउनका लागि दुई वटा डोजर तयारी अवस्थामा राख्ने योजना बनाएको छ।
‘हिमपात भयो भने बाटो रोकिन सक्छ। त्यही भएर तयारी अवस्थामा दुई वटा डोजर राख्ने योजना छ। अब चिसो बढ्दै जाँदा हिमपातको सम्भावना पनि रहन्छ,’ उनले भने, ‘कुनै पनि बेला उपकरण परिचालन गर्नुपर्ने अवस्था आउन सक्छ।’
सडक रोकिनासाथ नेपालको चीनसँगको व्यापारिक मार्ग पूर्ण रूपमा अवरुद्ध हुने भएकोले पनि त्यही अनुसार तयारी गर्नुपर्ने उनले बताए।
लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित भन्सार कार्यालय पछिल्लो समय निकै नै व्यस्त पनि बनेको छ। सीमित स्रोतसाधनका बाबजुद अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो ठुला आकारका कन्टेनर नेपाल भित्रिरहेका छन्।
रसुवागढी नाका बाढीले ध्वस्त पारेपछि चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द भएको थियो। रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान धमाधम कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो।
रसुवागढी र तातोपानी नाकाको सबै व्यापार यही नाकाबाट भइरहेको थियो। यो नाका हुँदै यसअघि चीनबाट आयात हुने विद्युतीय सवारी मात्र भित्र्याउने माध्यम बनेको थियो।
तर अहिले भने दैनिक उपभोग्य देखि व्यापारिक सामाग्री, विद्युतीय गाडी र उद्योगका सामान पनि यही नाकाबाट भित्रिन थालेका छन्। यसले भन्सार कार्यालयलाई चलायमान बनाएको छ भने कालिगण्डकी करिडोरमा पनि गाडीको चाप बढाएको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १७:४३ बिहीबार



-600x400.jpg)

