हिमपातले हिमाली भेगको जनजीवन अस्तव्यस्त बनेको छ। पदयात्राको सिजन पर्ने यो समयमा परेको बाक्लो हिमपातले हिमाली क्षेत्रको पदयात्रामा निस्केका सयौं आन्तरिक र बाह्य पर्यटक बीचमै रोकिएका छन। पदमार्ग पुरै हिउँले भरिएको छ। माथिल्लो भेगमा पुगेका सवारी समेत हिउँमै रोकिएका छन। बाक्लो हिमपातले पदयात्रामा रहेका सयौं पाहुनाको यात्रा अवरुद्ध भएको स्थानीय प्रशासनले बताएका छन।
हिमाली जिल्लाका स्थानीय प्रशासनले हिमपातबाट क्षति हुन नदिन हिमाली क्षेत्रमा पदयात्रामा जाँदा सचेतना अपनाउन आग्रह गरेका छन। हिमपातले आउजाउ अस्तव्यस्त हुने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले पदयात्रीलाई जहाँको तहि रोकिन आग्रह पनि गरेका छन। हिमाली जिल्ला मनाङको यातायात पूर्णरुपमा अवरुद्ध भएको छ। मुस्ताङमा पनि कागबेनी भन्दा माथिल्लो भेगको यात्रा रोकिएको छ। बाक्लो हिउँ जमेको र गाडी चिप्लिन सक्ने जोखिम रहेको भन्दै मुक्तिनाथ जाने मार्गमा गाडी चलाउन रोकिएको छ।
तिलिचोका लागि पाहुना लिएर गएका पोखराका पर्यटन व्यावसायी विजय केसीका अनुसार मनाङको जनजीवन हिमपातले ठप्पै भएको छ। उनका अनुसार सोमबार बेलुकीदेखि उक्त क्षेत्रमा हिमपात सुरु भएको थियो। हिमपातले जोखिम पर्न सक्ने भन्दै मनाङ प्रशासनले तिलिचो बेसक्याम्पका रहेका पर्यटक र होटल व्यावसायीलाई सुरक्षित ठाउँमा झारिसकेको छ। थोराङला भञ्ज्याङको पदयात्रामा जान समेत स्थानीय प्रशासनले रोक लगाएको छ।
केसीका अनुसार तिलिचो जान हिडेका पर्यटक अहिले बीचबाटै फर्केका छन। ‘तिलिचो जान सकिएन । हिउँ परेकोले यात्रा बीचमै रोकिएको हो,’ केसीले भने, ‘तिलिचो जान नसकेपछि पाहुनाहरु बेसक्याम्पबाट फर्केका छन।’ उनका अनुसार तिलिचो जान हिडेका पाहुना र त्यहाँका होटल व्यावसायीलाई पनि सुरक्षित ठाउँमा झारिएको छ।
‘म अहिले मनाङको खाङसारमा छु। यहाँ एकमिटर जति हिउँ जमेको छ। मान्छेको भीड बढेर टेक्ने ठाउँ छैन,’ उनले भने, ‘खाङसार, टंकी मनाङ लगायतका क्षेत्रका सबै होटल पाहुनाले भरिभराउ रहेका छन।’ पोखराबाट आन्तरिक पाहुनाको एक समूह लिएर तिलिचोका लागि गएका केसीले हिउँमा फँसेको गाडी निकाल्न सकिने अवस्था समेत रहेको बताए।
.jpg)
उनका अनुसार पदयात्रामा आएका धेरै पाहुना मनाङबाट अघि बढ्न सकेका छैनन। ‘बाटोमा थुप्रिएको हिउँ डोजर लगाएर नहटाएसम्म हिडडुल गर्न सकिन्न,’ उनले भने, ‘गाडी र मोटरसाईकलमा आएका आन्तरिक र विदेशी पाहुनाको भीडभाड छ। उनीहरु जहाँको तही रोकिएका छन। अहिले पनि हिउँ पर्न रोकिएको छैन। दिनमा १५ सय जनाको हाराहारीमा पाहुना मनाङ आएका छन।’
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार अहिले पनि मनाङमा हिमपात भईरहेको छ। उनका अनुसार हिउँ तीनफिटसम्म जमेको छ। उनका अनुसार बाक्लो हिमपातका कारण तिलिचो क्षेत्रमा रहेका करिब ९ सयजना पाहुनालाई तल झारिएको छ। ‘तिलिचो बेसक्याम्पमा रहेका ९५ प्रतिशतजति पाहुना तल झरेका छन। हिउँ पन्छाउन सुरक्षाकर्मी परिचालन त गरिएको छ। तर पूर्ण रुपमा हिउँ पन्छाउन केहीदिन लाग्छ,’ प्रजिअ पौड्यालले भने, ‘मान्छेको पनि खुबै भीड छ।’ उनका अनुसार खाङसारमा झन्डै ८ सय जना मान्छे छन । ती सबै घुम्न निस्केका पाहुना हुन।’
.jpg)
उनका अनुसार थोराङला पास जानेमा विदेशी बढी भएपनि उनीहरुका लागि अहिले पदयात्रामा रोक लगाइएको छ। उनका अनुसार थोराङला पदयात्रामा विदेशीको भीडभाड छ भने तिलिचो क्षेत्रमा स्वदेशी पाहुना बढी छन। ‘अहिलेका लागि खानपिन र बसोबासमा समस्या छैन। हामीले होटल व्यवासायीलाई पनि पाहुनालाई सहजै सेवा दिन भनेका छौं,’ उनले भने।
प्रजिअ पौडेलका अनुसार खाङसारमा रोकिएका केही मान्छेलाई मनाङ सदरमुकाम चामे झार्ने प्रयास भईरहेको छ। गाडी र मोटरसाइकलमा गएका उनीहरुलाई चामे झार्न सकेमा खाङसारको भीड कम हुने अनुमान छ चामे झार्नका लागि हिउँ थुप्रिएको ठाउँमा डोजर परिचालन गरेर हिउँ पन्छाउने काम भइरहेको छ। खाङसारबाट सामान्य अवस्थामा २ घण्टामा चामे झर्न सकिन्छ। तर, अहिले हिमपातले गर्दा त्यो समय दोब्बर लाग्न सक्ने उनको अनुमान छ। हुम्दे र माथिल्लो मनाङमा डोजर परिचालन गरेर ट्रयाक सफा गरेर मोटरसाइकल र गाडीका पाहुनालाई चामे झार्ने प्रयास भईरहेको उनले जानकारी दिए।
.jpg)
अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि हिमपातले जनजीवन प्रभावित भएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार धौलागिरी सर्किट पुरा गरेर फर्केका विदेशी र उनीहरुका नेपाली सहयोगीको एउटा टोली अहिले सर्किटमै रोकिएको छ। करिब ५१ सय मिटर उचाइँको हिडन भ्यालीमा ३ जना ब्रिटिस नागरिक र उनीहरुका १२ जना नेपाली सहयोगी गरि १५ जना रोकिएको प्रजिअ भुसालले जानकारी दिए।
‘धौलागिरी सर्किट पुरा गरेर फर्केका विदेशी र उनीहरुका नेपाली सहयोगीहरु ५१ सय मिटरमा रोकिएका छन। उनीहरु सुरक्षित छ। त्यहाँबाट तल झर्न सकिने अवस्था छैन। उद्धारका लागि जान सक्ने वा हेलिकप्टर पठाउने अवस्था पनि छैन,’ उनले भने अहिलेका लागि त जोखिम छैन। उनीहरु सुरक्षित छन्। भोलिबाट मौसममा सुधार आएमा मात्र उद्धार सम्भव हुनेछ।
मुस्ताङका प्रजिअ भुसालका अनुसार मुस्ताङको मुख्य सडक चालु अवस्थामै छ। तर, मुक्तिनाथ उक्लिन भने रोक लगाइएको छ। हिउँले गर्दा गाडी चिप्लिने डर भएकोले गाडी जान रोक लगाएको उनले बताए। उनका अनुसार अहिले आन्तरिक र बाह्य पर्यटकको मुस्ताङमा भीडभाड रहेको छ। मुस्ताङमा ३ सय ५० वटा होटल छन। ती होटलमा एकरातमा १२ हजार पाहुना अट्ने क्षमता भएपनि दिनमा २० हजार मान्छे आएको अनुमान छ। ‘यतिखेर भने बसोबास र खानपिनमा समस्या छैन। केहीदिन अघिसम्म खानपिन र बसोबासमा पनि समस्या छ। पाहुनाको भीड अधिक भएपछि यहाँका घरले समेत पाहुनालाई सेवा दिए,’ उनले भने, ‘हिमपातको यो बेला खान र बस्नको समस्या त छैन, तर हिमपातले सकस थपेको छ।’
पर्यटन क्षेत्रका अनुसार यो बेला हिमाली क्षेत्रमा पर्याप्त मात्रामा आन्तरिक र बाह्य पर्यटक रहेका छन्। अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा पनि हिमपात भईरहेको त्यहाँका होटल व्यावसायी जगनराज गुरुङले जानकारी दिए । उनका अनुसार एबिसी क्षेत्रमा पनि सोमबार रातीदेखि हिउँ पर्न थालेको हो। ‘यता भने ठूलो हिउँ परेको छैन। पाहुना आउने जाने चलिरहेको छ। पाहुनालाई अहिलेसम्म अप्ठेरो छैन,’ उनले भने, ‘अहिलेसम्म चार इन्चजति हिउँ जमेको छ। सबैतिर सेतै देखिएको छ। यतिबेला हिउँ पर्ने सिजन हो। हिमपातका लागि यो अनौठो समय होईन।’ चिसो बढेपनि पाहुनाको आउजाउ भने चलिरहेको उनले बताए।
प्रकाशित: ११ कार्तिक २०८२ १७:४२ मंगलबार





