२३ असार २०८३ मंगलबार
image/svg+xml
समाज

बर्खासँगै बढ्दै सर्पदशंका बिरामी

सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीमा उपचार गराउँदै सर्पले टोकेका बिरामी। तस्बिरः नागरिक

बखायामसँगै विभिन्न भागमा सर्पदशंका घटना बढेका छन्। गत वैशाख र जेठमा मात्रै  इटहरीस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा २८४ जनाको उपचार भएको छ। दुई महिनामा सर्पले डसेका १४९ महिला र १३५ पुरुषको उपचार केन्द्रमा भएको हो। वैशाखमा ११३ जना र  जेठमा १७१ जना सर्पदंशका बिरामीको उपचार भएको हो। नेपाली सेनाको इटहरीस्थ्ति पूर्वी पृतना मुख्यालयले एमडी डाक्टरको नेतृत्वमा उक्त केन्द्रबाट सेवा दिँदै आएको छ।

केन्द्रमा पूर्वी तराई सुनसरी, मोरङ, उदयपुरसँगै पहाडी जिल्ला संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुमलगायतबाट  सर्पले डसेका बिरामी उपचार गर्न आउने समुदाय स्तरबाट केन्द्र सञ्चालन गर्ने जिम्मेवारी पाएको समितिका उपाध्यक्ष राजु थापाले बताए। केन्द्रमा २०६९ सालदेखि उपचार हुँदै आएको छ। २०६९ सालदेखि २०८२ सालसम्म १८ हजार ८३ जना सर्पदंशका बिरामीको उपचार गरिएको तथ्यांक छ।  

वार्षिक रूपमा सबैभन्दा धेरै २०७३ सालमा एक हजार ५४२ जना सर्पदंशका बिरामीको उपचार भएको छ।  केन्द्रमा २०६९ सालमा ९५८ जना, २०७० मा एक हजार ११० जना,  २०७१ मा एक हजार १८१ जना, २०७२ मा एक हजार २७९ जना, २०७४ मा एक हजार ४०७ जना, २०७५ मा एक  हजार ४४९ जना, २०७६ मा एक हजार ४७१ जना, २०७७ मा एक हजार ४३० जना, २०७८ मा एक हजार ३३८ जना, २०७९ मा एक हजार ८० जना, २०८० मा एक हजार २८८ जना, २०८१ मा एक हजार ३२० जना र २०८२ मा एक हजार २३० जना सर्पदंशका बिरामीको उपचार भएको छ।  

नेपाली सेनाको पूर्वी पृतना मुख्यालयले एमडी डाक्टरको नेतृत्वमा मेडिकल टिम र एन्टी स्नेक भेनम औषधि दिने तथा भौतिक पूर्वाधार तथा उपकरण व्यवस्था केन्द्रले मिलाउने सहमति छ। यही सहमतिमा केन्द्र स्थापना गरी सेवा दिन थालिएको हो। आइसियु आवश्यक पर्ने सर्पदंशका बिरामीलाई अन्यत्र रिफर गरिन्छ।  

पूर्वमा नेपाली सेनाको झापाको चारआलीस्थित ब्यारेकमा पनि सर्पले डसेका बिरामीको उपचार गरिन्छ। त्यस्तै सरकारीमध्ये बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोसी अञ्चल अस्पतालमा पनि सर्पदंशका बिरामीको उपचार हुन्छ। निजी अस्पतालमध्ये बिर्तामोडस्थित बिएण्डसी, बिर्ता सिटी र मनमोहन अस्पतालमा सर्पदंशका बिरामीको उपचार गरिन्छ। दमकस्थित निजी अस्पतालमा सर्पदंशका बिरामीको उपचार हुन्छ। विराटनगरस्थित नोबेल अस्पताल, ग्रीन क्रस र विराट नर्सिङ् होमान पनि सर्पले डसेका बिरामीको उपचार गरिन्छ। नेपाली सेनाले उदयपुर र उत्तरी मोरङको लेटाङ्मा पनि सर्पले डसेका बिरामीलाईं उपचार दिँदै आएको छ। सर्पको डसाइबाट ज्यानसम्म जाने गरेको छ। तर कतिजनाको ज्यान गएको छ र कतिजना सपंदंशबाट प्रभावित भए भन्ने यकिन तथ्यांक छैन।

प्रकाशित: २३ असार २०८३ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App