मोरङको सुन्दरहरैँचामा श्रीमानलाई हतियार प्रहार गरी आक्रमण गरेको आरोपमा श्रमितीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति धारिलो हतियार प्रहार भएको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए। उनका अनुसार शनिबार राति साढे १० बजेतिर घरमै सुतिरहेका बेला अपरिचित व्यक्तिले हतियार प्रहार गरी घाइते बनाएको हो।
अपरिचित व्यक्तिले घरमा आएर रातको समयमा अधिकारीमाथि धारिलो हतियारले आक्रमण गर्ने व्यक्तिको पूर्ण पहिचान हुन बाँकी रहेको बताउँदै डिएसपी चौधरीले भने, ‘अधिकारीमाथि कुन हतियारले आक्रमण गरिएको हो भनेर यकिन भइसकेको छैन। मुख, हात, टाउको, बायाँ कानलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। अहिले उनको अवस्था सुधार हुँदै गएको छ। प्रारम्भिक अनुसन्धानबाट घटनामा श्रीमती रन्जना कार्की (अधिकारी)को संलग्नता देखिएको हुँदा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएका छौं।’
घटनालगत्तै अधिकारीलाई उद्धार गरेर उपचारका लागि विराटचोकको सुकुना सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। अधिकारी २ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। फागुन ५ गते मात्रै नेपाल फर्किएको पाइएको प्रहरीले जनाएको छ।
‘प्रारम्भिक अनुसन्धानबाट बाहिरी व्यक्तिसँग मिलेमतो गरेर श्रीमतीले घटना गराए जस्तो देखिन्छ। त्यही भएर श्रीमतीलाई नियन्त्रणमा लिएर सोधपुछ र थप अनुसन्धान गर्ने काम भइरहेको छ,’ डिएसपी चौधरीले भने।
प्रहरी नियन्त्रणमा रहेकी रन्जनाले भने सोधपुछका क्रममा आफैंले श्रीमानलाई खुर्पाले प्रहार गरेको बताएकी छन् । तर, घटनास्थलको प्रकृति हेर्दा उनी एक्लैले घटना गराएजस्तो नदेखिने प्रहरीले जनाएको छ ।
घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्छ। सबै कोणबाट अनुसन्धान थाले र अनुसन्धानपछि थप कुरा बाहिर आउने डिएसपी चौधरीले बताए। इलाका प्रहरी कार्यालय बेलबारीमा रन्जनालाई राखेर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
प्रकाशित: १० फाल्गुन २०८२ १८:४० आइतबार





