थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ।
यहाँबाट आफू घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको प्रधानमन्त्रीको सचिवालय्ले जनाएको छ। बस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए।
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती शनिबार बिहानैदेखि खाली गर्न सुरु गरिएको छ। सरकारले सार्वजनिक जग्गाबाट अनधिकृत संरचना हटाउन निर्देशन दिएपछि त्यहाँ बसिरहेका मानिसहरू अन्यत्र जान थालेका छन्।
अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीको उपस्थितिमा डोजर चलाएर अनधिकृत घरटहराहरू भत्काउने काम भइरहेको छ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौं महानगरपालिका-९ गैरीगाउँको सुकुम्बासी बस्ती पनि खाली गर्ने तयारी भइरहेको छ।
प्रकाशित: १२ वैशाख २०८३ १२:४८ शनिबार





