३० वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

एक दशकमा चितवन निकुञ्जको सुरक्षामा खटिएका ६ कर्मचारीको मृत्यु, ४३ जना घाईते

चितवन राष्ट्रिय निकुञ्ज भित्रको श्री गोरख गणको टोली निकुञ्जको अमलटारी क्षेत्रमा गस्ती गर्दै थियो। बिहीबार दिउँसो गस्तीमा निस्किएको टोलीलाई अचानक गैंडाले आक्रमण गर्‍यो। बच्चासहित रहेको गैँडाले आक्रमण गर्दा सोही गणका विशाल घर्ती क्षेत्री गम्भीर घाईते हुन पुगे। उनी हाल वीर अस्पतालमा उपचारत छन्।

यस्तै चितवन राष्ट्रिय निकुञ्जमा असोज २०८१ मा जङ्गली हात्ती (गोविन्दे) को आक्रमणबाट सर्लाहीका ३४ वर्षीय माउते जग्दु सिंहले ज्यान गुमाउनु पर्‍यो। सौराहास्थित हात्ती प्रजनन केन्द्र (खोरसोर) जाँदै गर्दा सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उनको ज्यान गएको थियो। उनीसँगै रहेका अर्का व्यक्ति भने भागेर ज्यान जोगाउन सफल भएका थिए।

यसरी नै जंगली जनावरको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीको मृत्यु हुने क्रम बढ्दो छ। जसको निकुञ्ज संरक्षणका लागि खटिने जनशक्ति जोखिममा देखिएका छन्।  

निकुञ्जका अनुसार पछिल्लो एक दशकमा जंगली जनावरको आक्रमणबाट सुरक्षामा खटिएका छ जना कर्मचारी तथा सुरक्षाकर्मीले ज्यान गुमाएका छन्। तीमध्ये चार जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको हो भने गैँडा र बाघको आक्रमणबाट एक–एक जनाको ज्यान गएको छ। सूचना अधिकारी अभिनास थापामगरका अनुसार मृत्यु हुनेमध्ये अधिकांश नेपाली सेना अन्तर्गतका सुरक्षाकर्मी रहेका छन्।

मृत्युका घटनामात्र होइन, घाइते हुनेको संख्या अझै बढी छ। निकुञ्जको तथ्यांकअनुसार पछिल्लो दस वर्षमा ४३ जना सुरक्षाकर्मी तथा कर्मचारी जंगली जनावरको आक्रमणबाट घाइते भएका छन्। तीमध्ये सबैभन्दा धेरै हात्तीको आक्रमणबाट ३२ जना घाइते भएका छन्। गैँडाको आक्रमणबाट १० जना र बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

संरक्षणकर्मी तथा बाघमारा मध्यवर्ती सामुदायिक वनका निवर्तमान अध्यक्ष जितबहादुर तामाङ जंगलभित्र गस्तीका क्रममा जनावरसँग आकस्मिक भेट हुँदा यस्तो जोखिम बढ्ने गर्दछ। विशेषगरी बच्चासहित रहेका जनावर बढी आक्रमण हुने भएकाले सतर्कता अपनाउनुपर्ने उनले बताए।  

‘निकुञ्ज प्रशासनले सुरक्षाकर्मी तथा कर्मचारीलाई थप तालिम, सुरक्षात्मक सामग्री र आधुनिक प्रविधिको प्रयोगमार्फत जोखिम न्यूनीकरण गर्ने प्रयास गर्नुपर्छ’उनले भने ‘अहिलेको अवस्था हेर्दा कर्मचारीलाई तालिम नपुगेको हो कि जस्तो छ।’ संरक्षण र सुरक्षा दुवै जिम्मेवारी बोकेका जनशक्तिको सुरक्षाका लागि दीर्घकालीन रणनीति आवश्यक भएको उनको भनाई छ। 

प्रकाशित: १ वैशाख २०८३ १६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App