२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

तनहुँ र कास्की कारागारबाट भागेका ६ जना गोरखामा पक्राउ

तनहुँ र कास्की कारागारबाट भागेका छ जनालाई गोरखाबाट नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयले कास्की कारागारका पाँच र तनहुँ कारागारका एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले पक्राउ पर्ने चार जना चुमनुब्री गाउँपालिका– ६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्जेन लामा र तेञ्जिन रिग्जेन लामालाई नियन्त्रणमा लिएको बताए।  

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका छेवाङ, सोनाम ग्याल्जेन र तेन्जिन रिग्जिनलाई गत भदौ २५ र सोनाम दोर्जेलाई २६ गते नियन्त्रणमा लिएको उनले जानकारी दिए। चुम्चेतकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरू चारैजनाले गत २०७४ कात्तिक २० गतेदेखि कास्की कारागारमा सजाय भुक्तान गरिरहेका थिए।  

यस्तै, कास्की कारागारबाट भागेका भीमसेन थापा गाउँपालिका-१ मसेलका राजेश विश्व सुनार पक्राउ परेका हुन्। कर्तव्य ज्यान मुद्दामा विसं २०७५ असारदेखि कैद सजाय भुक्तान गरिरहेका विश्व पनि गत भदौ २४ गते भागेर गोरखा आइपुगेका थिए। उनलाई शुक्रबार पक्राउ गरिएको हो।

यस्तै, तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका सिरानचोक गाउँपालिका–८ का विशाल उपरकोटीलाई पनि प्रहरीले शुक्रबार गोरखाबाटै पक्राउ गरेको छ। चोरी मुद्दामा गत वैशाख १२ गतेदेखि कैद सजाय भोगिरहेका उनी पनि गत भदौ २४ गते तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका थिए। रासस

प्रकाशित: २९ भाद्र २०८२ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App