देशका विभिन्न जिल्लामा शुक्रबार र शनिबार गरी ६ जना मृत अवस्थामा फेला परेका छन्। चितवन, डोटी, सप्तरी, अछाम र कैलालीका फरक-फरक स्थानमा उनीहरू मृत फेला परेका हुन्।
सप्तरीको कञ्चनरूप नगरपालिका–३ स्थित चन्द्र नहरमा सोही नगरपालिका–८ गोवास टोल बस्ने सुलेमान मंसुरीकी ५ वर्षीया छोरी सकिना खातुन शनिबार मृत अवस्थामा फेला परेकी छिन्।
यसैगरी, कैलालीको कैलारी गाउँपालिका–५ मनिकापुर बस्ने ७० वर्षीय सन्त राम चौधरी आफ्नै घरमा शनिबार मृत फेला परेका छन्। कैलालीकै घोडाघोडी नगरपालिका–१ बेलार बस्ने २० वर्षीय सागर शाही सोही ठाउँस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन्।
अछामको कमलबजार नगरपालिका–६ स्थित स्याउले बजारमा सोही नगरपालिका–७ बस्ने ६५ वर्षीय नन्द सिंह सुनार शनिबार मृत फेला परेका छन्।
यसअघि, चितवनको भरतपुर महानगरपालिका–११ स्थित खडेरी खोलामा शुक्रबार अन्दाजी ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका थिए। उनको नाम, थर र वतन खुल्न सकेको छैन।
त्यस्तै डोटीको दिपायल सिलगढी नगरपालिका–३ मठ नजिकै सेती नदीमा नाम, थर र वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला शुक्रबार मृत फेला परेकी छिन्।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि पठाएको छ। यी सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २ श्रावण २०८३ १९:३४ शनिबार





