जुम्लाको सिंजा गाउँपालिका–५ की जर्मकली बुढाले यस वर्षको भाइटीकाका लागि बारीभरि फुलेका स्थानीय फूल जोगाएर राखेकी थिइन्। चार दिदीबहिनीकी एक्ला दाजु मुनबहादुर बुढालाई सप्तरङ्गी टीका लगाइदिने र फूलको माला पहिर्याउने उनको ठूलो धोको थियो। तर, तिहारको मुखैमा दाजु मजदुरीका लागि भारत गएपछि उनको त्यो रहर अधुरै बनेको छ।
कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको शुभसाइत छ। दिदीबहिनी टीका र माला तयार पार्ने प्रतीक्षामा छन्। तर, जर्मकलीका दाजु भने बिहीबार बिहानै रोजगारीको खोजीमा सीमापारि पुगिसकेका छन्। दिदीबहिनीबाट टीका नलगाउनु उनको रहर होइन, परिवारको जीविकोपार्जन गर्नुपर्ने बाध्यता हो।
विवाह गरिसकेकी जर्मकलीका लागि यसपालिको तिहार खुसीभन्दा बढी खिन्नताको पर्व बनेको छ। ‘हामी चार दिदीबहिनीको एउटै दाजु हुनुहुन्छ। दाजु घरमा अरू दाजुभाइ भए पनि हुन्थ्यो। मनभित्र निकै खिन्न भइरहेको छ। अरूका दाजुभाइ आउलान्, दिदीबहिनी खुसी होलान्, हाम्रो भने त्यो खुसी अधुरै रहने भयो,’ उनले भावुक हुँदै भनिन्।
दाजुलाई टीका लगाइदिने आशामा उनले बारीभरि फूल जोगाएर राखेकी थिइन्। भाइटीकाका लागि माला तयार पार्ने उनको योजना थियो। तर, दाजु नै घरमा नभएपछि फूल र माला तयार पार्ने खुसीसमेत निरर्थक बनेको छ।
सिंजाकै पानकली रावतको पीडा पनि उस्तै छ। उनका दुई दाजुभाइ छन् भने उनी एक्ली बहिनी हुन्। तर, दाजु दलबहादुर र राजेश बुढा पनि मजदुरीका लागि भारत पुगिसकेका छन्।
‘तिहार नजिकिँदै गर्दा दाजुभाइ घरमा नहुँदा कसलाई पो राम्रो लाग्छ र ? यो सबै गरिबीले गर्दा हो। भारत नगएर घरमै बस्ने हो भने बालबालिका पढाउन र परिवार पाल्न कठिन हुन्छ,’ उनले भनिन्, ‘घरको खेतीपातीले छ महिना पनि राम्रोसँग खान पुग्दैन। अब समय भए अर्को साल टीका लगाउने छु।’
सिंजाकै छैटाकली रोकाया पनि तीन दाजुभाइकी एक्ली बहिनी हुन्। उनका सबै दाजुभाइ रोजगारीका लागि भारत पुगेका छन्। उनीहरू कात्तिक १८ गतेदेखि नै घरबाहिर छन्। यस वर्षको भाइटीकामा दाजुभाइको निधारमा टीका लगाइदिने र उनीहरूसँगै पर्व मनाउने उनको चाहना पनि पूरा हुने छैन।
एउटै क्षेत्रका यी दिदीबहिनीका कथा फरक भए पनि पीडाको कारण एउटै छ—गरिबी र गाउँमै रोजगारीको अभाव।
सिंजा क्षेत्रका युवा तथा पुरुषका लागि रोजीरोटीको मुख्य आधार भारतमा गएर मजदुरी तथा व्यापार गर्नु बनेको छ। हरेक वर्ष असोज–कात्तिक लागेसँगै रोजगारीको खोजीमा गाउँ छाड्ने क्रम बढ्छ। जुम्लाका सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकाका हजारौँ युवा तथा पुरुष अहिले रोजगारीका लागि भारत पुगेका छन्। स्थानीयका अनुसार पछिल्लो समय दैनिक दुईदेखि चार समूहसम्म गाउँ छाडिरहेका छन्।
स्थानीय वृद्ध बाँचे बुढाका अनुसार गाउँमा अहिले फाट्टफुट्ट भेडागोठाला, ज्येष्ठ नागरिक, महिला र साना बालबालिका मात्रै भेटिन्छन्। ‘गाउँमा हामीजस्ता वृद्धवृद्धा, महिला र बालबालिका मात्रै भेटिन्छन्। यो सबै गरिबी र बेरोजगारीको परिणाम हो,’ उनले भने।
उत्पादनशील उमेरका नागरिक गाउँबाट बाहिरिएपछि खेतीपातीदेखि सामाजिक तथा पारिवारिक गतिविधिसम्म प्रभावित बनेका छन्। खेतबारीमा काम गर्ने जनशक्ति अभाव हुनुका साथै चाडपर्व र सामाजिक कार्यमा समेत परिवारका सदस्यको उपस्थिति पातलिँदै गएको छ।
स्थानीय तह गठन भएर ‘गाउँ–गाउँमा सिंहदरबार’ पुगेको वर्षौँ बितिसक्दा पनि सिंजा क्षेत्रका नागरिकले आफ्नै गाउँमा भरपर्दो रोजगारी पाउन सकेका छैनन्। सीपमूलक तालिम, आयआर्जन र रोजगारी सिर्जनाका नाममा करोडौँ रुपैयाँ खर्च भइरहेको भए पनि त्यसको उपलब्धि देखिन नसकेको स्थानीयको गुनासो छ। गाउँमै आम्दानीको भरपर्दो आधार तयार नहुँदा परिवारको जीविकोपार्जनका लागि भारत जानुपर्ने बाध्यता कायम छ। स्थानीय सरकारका कार्यक्रमले युवालाई गाउँमै रोक्न नसकेको उनीहरूको आरोप छ।
सिंजा गाउँपालिकाका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शंकर धितालका अनुसार हरेक हिउँदमा भारत जाने क्रम यहाँ परम्पराकै रूपमा विकास भएको छ। अभिभावक रोजगारीका लागि बाहिरिँदा कतिपय विद्यार्थी पनि उनीहरूसँगै जाने गरेकाले विद्यालयको नियमित पढाइ प्रभावित हुने गरेको उनले बताए।
‘अभिभावकसँगै विद्यार्थी पनि मजदुरीका लागि भारत जान्छन्। उनीहरू विद्यालयमा पढ्न पाउँदैनन्। विद्यार्थी सङ्ख्यामा समेत कमी आउँछ। दुई महिना पढेका कुरा बिर्सिसकेका हुन्छन्,’ धितालले भने।
उनका अनुसार अभिभावकसँगै बाहिरिने बालबालिकाको पढाइमा मात्र होइन, घरमा अभिभावकको प्रत्यक्ष निगरानी नहुँदा उनीहरूको सिकाइ र समग्र विकासमा समेत असर पर्छ। विद्यालयमा नियमित उपस्थित हुन नपाउँदा विद्यार्थीले सिकेका कुरा बिर्सने र पुनः विद्यालय फर्किएपछि पनि पढाइको लय समात्न कठिन हुने अवस्था छ। रोजगारीका लागि हुने मौसमी पलायनले परिवारको जीविकोपार्जनमा केही सहयोग पुर्याए पनि बालबालिकाको शिक्षामा भने निरन्तर चुनौती थपिरहेको छ।
धितालले युवालाई गाउँमै रोक्न स्थानीय सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसकेको बताए। युवा लक्षित कार्यक्रमका नाममा भलिबल तथा फुटबल वितरण र मनोरञ्जनात्मक गतिविधि सञ्चालन भए पनि त्यसले युवाको आयआर्जन र रोजगारीमा प्रत्यक्ष योगदान गर्न नसकेको उनको भनाइ छ।
‘युवालाई लक्षित गरेर कार्यक्रम त भएका छन्। भलिबल वितरण गरिएको छ, फुटबल बाँडिएको छ, मनोरञ्जनात्मक कार्यक्रम पनि भएका छन्। तर, अहिले भइरहेका गतिविधिले युवालाई गाउँमै रोक्न सक्दैनन्,’ उनले भने।
युवालाई गाउँमै टिकाइराख्न प्रत्यक्ष आम्दानीसँग जोडिएका सीपमूलक कार्यक्रम आवश्यक रहेको धितालको सुझाव छ। उनका अनुसार ड्राइभिङ, उद्यमशीलता, व्यवसाय सञ्चालन र आयआर्जनसँग सम्बन्धित सीप सिकाउने कार्यक्रम ल्याउनुपर्छ।
‘युवालाई सीपमूलक कार्यक्रम चाहिएको छ। ड्राइभिङ, उद्यमशीलता र प्रत्यक्ष आम्दानी हुने कामसँग जोड्नुपर्छ। तर, हाम्रो गाउँपालिकामा युवाको सवालमा कुनै बजेट विनियोजन नहुनु दुःखद पक्ष हो,’ उनले भने।
सिंजाका जर्मकली, पानकली र छैटाकलीजस्ता दिदीबहिनीका लागि भाइटीका केवल एउटा चाड मनाउने अवसर होइन, दाजुभाइसँगको आत्मीयता र पारिवारिक मिलनको दिन पनि हो। तर, गाउँमै रोजगारीको अवसर नहुँदा उनीहरूको तिहारको खुसी भारतमा मजदुरी गरिरहेका दाजुभाइको प्रतीक्षामा सीमित बनेको छ। चाडपर्वमा घर फर्कने चाहना हुँदाहुँदै पनि परिवार पाल्नकै लागि परदेशिनुपर्ने बाध्यताले सिंजाका धेरै घरमा यस वर्षको भाइटीका अधुरो रहने भएको छ।
प्रकाशित: २२ कार्तिक २०८३ ११:४३ आइतबार





