१८ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

सिन्धुली हिरासत मृत्यु प्रकरण: छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

सिन्धुलीमा हिरासतमा रहेका एक युवकको मृत्यु भएको घटनाको अनुसन्धान गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ।

प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झन्लीडाँडाका दलबहादुर विकका २२ वर्षीय छोरा श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएको घटनाबारे तथ्यगत तथा वस्तुनिष्ठ छानबिन गर्न समिति गठन गरिएको हो।

जबरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको न्यायिक हिरासत कक्षमा राखिएका विक वैशाख ७ गते बिहान ७:५५ बजे हिरासत कक्षको शौचालयमा आफ्नै लगाएको कालो रंगको सर्टको पातो घाँटीमा लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए।

उपचारका क्रममा उनको मृत्यु भएपछि घटनाबारे विस्तृत अनुसन्धानका लागि समिति गठन गरिएको प्रहरीले जनाएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका एआइजी दिनेश कुमार आचार्यको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरी प्रधान कार्यालय युएन शाखाका डीआइजी रविन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरोका इन्सपेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेम रेग्मी तथा प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा सदस्य रहेका छन्।

प्रहरी प्रधान कार्यालयले समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

प्रकाशित: ११ वैशाख २०८३ १६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App