भारतीय मौसम विभाग (आईएमडी) ले सार्वजनिक गरेको पछिल्लो भू–उपग्रह तस्बिर अनुसार पाकिस्तानदेखि उत्तरपश्चिम, मध्य तथा पूर्वी भारतसम्म फैलिएको विशाल बादलको आवरण देखिएको छ। यसले दक्षिण एसियाभर पूर्व–मनसुन (प्री–मनसुन) गतिविधि थप सक्रिय बन्दै गएको संकेत गरेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद्का अनुसार उक्त प्रणाली सक्रिय पश्चिमी विक्षोभ, उत्तरी पाकिस्तान आसपासको चक्रवाती परिसंचरण तथा अरब सागर र बंगालको खाडीबाट भित्रिएको प्रशस्त आर्द्रताको संयुक्त प्रभावबाट विकसित भएको हो।
यस प्रणालीको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन सक्ने आकलन गरिएको छ। विशेषगरी हिमाली, उच्चपहाडी, पहाडी तथा तराई क्षेत्रका विभिन्न भूभागमा आगामी केही दिन मेघगर्जनसहित वर्षा, चट्याङ र हावाहुरीको सम्भावना बढेको बताइएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पश्चिम तथा मध्य नेपालमा पूर्व–मनसुन वर्षा थप सक्रिय हुन सक्ने अवस्था देखिएको छ। उनका अनुसार पहाडी तथा हिमाली जिल्लाका केही स्थानमा मध्यमदेखि भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको छ।
चट्याङ र हावाहुरीका घटनामा वृद्धि हुन सक्ने भएकाले सर्वसाधारणले आवश्यक सतर्कता अपनाउनु पर्ने बताएका छन्। उनका अनुसार तराई क्षेत्रमा केही दिनदेखि कायम अत्यधिक गर्मीबाट भने वर्षासँगै आंशिक राहत मिल्न सक्छ।
यसैबीच, प्रशान्त महासागर क्षेत्रमा विकसित हुँदै गएको एल निनो अवस्थाले आगामी मनसुनमा प्रभाव पार्न सक्ने हुदाँ निगरानी जारी रहे पनि हाल दक्षिण एसियामा देखिएको सक्रिय मौसमीय अवस्था मुख्यतः क्षेत्रीय वायुमण्डलीय प्रणालीहरूको प्रभावका कारण भएको मौसमविद्को भनाइ छ।
प्रकाशित: १६ जेष्ठ २०८३ १२:११ शनिबार





