५ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

कर्णालीमा ट्राफिक सुधारको संकेत

प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा कार्यक्रममा सहभागी<br>

कर्णालीमा भएको प्रदेश ट्राफिक व्यवस्थापन समिक्षामा ट्राफिक प्रहरीले सुधारका राम्रो कार्यहरु गरेको भन्दै प्रशंसा समेत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका ट्राफिक प्रमुख मुकुन्द प्रसाद रिजालले ट्राफिक व्यवस्थापनबारे राम्रो गतिविधिहरु गरिरहेको भन्दै प्रंशसा गरेका हुन् ।  

सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार सुधारका विषयमा सरोकारवालाबीच व्यापक छलफल भएको हो । कार्यक्रममा सहभागीहरूले कर्णालीका अधिकांश सडक अझै कच्ची, साँघुरा तथा जोखिमयुक्त रहेकाले सडक स्तरोन्नतिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । रिजाल कर्णालीमा ट्राफिक प्रमुख भएर आएसंगै प्रदेशभर ट्राफिक व्यवस्थापनबारे गतिविधिहरु राम्रो भएको पाईएको सरोकारवालाहरुले कार्यक्रममा बताए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख मुकुन्द प्रसाद रिजालका अनुसार कर्णालीमा सवारी दुर्घटनाबाट हुने मृत्युदर केही सुधारोन्मुख देखिएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १ सय ३१ जना, आर्थिक वर्ष २०८०/८१ मा १ सय १२ जना, आर्थिक वर्ष २०८१/८२ मा १ सय ३९ जना तथा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ सय २३ जनाले कर्णालीमा दुर्घटनाबाट ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षमा दुर्घटनाबाट हुने मृत्युदर घट्दो प्रवृत्तिमा रहेको कार्यालयले जनाएको छ ।

गोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सडक सुरक्षा सरकारको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक व्यवस्थापन सुधारमा प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताए । उनले दुर्घटनास्थलमा घाइतेको छिटो उद्धार र उपचारका लागि आगामी वर्षहरूमा स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्रीसहित सुविधासम्पन्न उद्धार भ्यान खरिदमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस क्रममा सडक डिभिजन कार्यालय सुर्खेत तथा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले प्रदेशभर सञ्चालन भइरहेका सडक सुधार, कालोपत्रे, जोखिम नियन्त्रण तथा यातायात पूर्वाधार विस्तारका गतिविधिबारे जानकारी गराएका थिए ।

गोष्ठीमा कर्णाली प्रदेश ट्राफिकले पछिल्ला वर्षहरूमा गरेका सकारात्मक कामहरू पनि प्रस्तुत गरिएको थियो । ट्राफिक प्रहरीले विद्यालय तथा समुदायस्तरमा सडक सुरक्षा सचेतना अभियान सञ्चालन, चालक र सहचालकलाई नियमित प्रशिक्षण, यात्रुवाहक तथा मालवाहक सवारीको निगरानी, ओभरलोड तथा तीव्र गतिमा नियन्त्रण, हेलमेट र सिटबेल्ट प्रयोगमा कडाइ, दुर्घटना सम्भावित क्षेत्रको पहिचान तथा संकेत बोर्ड व्यवस्थापन, राजमार्ग क्षेत्रमा संयुक्त चेकजाँच र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

दुर्गम भूगोलकाबीच सीमित स्रोत–साधनका बाबजुद ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन गरिएको प्रयासले दुर्घटना नियन्त्रणमा सकारात्मक प्रभाव देखिन थालेको सहभागीहरूको निष्कर्ष थियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) जयराज सापकोटा, प्रहरी प्रधान कार्यालय कार्य विभागका डिआइजी सुरेन्द्रबहादुर गुरुङ, सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलगायत सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित: ४ असार २०८३ १६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App