२७ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

रौतामा पर्यटन महोत्सवमा उल्लेख्य सहभागी

उदयपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीमा ३ दिनअघि सुरु भएको पर्यटन महोत्सव धुमधामका साथ सञ्चालन भइरहेको छ। रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको संयुक्त आयोजनामा चैत २९ गतेदेखि सुरु ‘प्रथम रौतामाई त्रियुगा पर्यटन महोत्सव ०८२’ भीडभाडका साथ सञ्चालन भइरहेको छ।

सदरमुकाम गाईघाट बजारदेखि ४२ किलोमिटर उत्तर पहाडी भेगमा अवस्थित रौतापोखरी उदयपुरको मात्र नभई प्रदेशकै धार्मिक तथा पर्यटकीय महत्त्वका स्थानमध्ये एक हो। नागी र जंगलबीच रहेको सुन्दर, आकर्षक तथा सफा पोखरी तथा पाखेरी छेउमै रहेको रौतामाई मन्दिरले यस क्षेत्रलाई धार्मिक रूपमा जति आस्थाले हेरिन्छ, उत्तिकै महत्त्वका साथ पर्यटकीय स्थलका रूपमा पनि चिनाउँछ।

पाठी र परेवाको बली दिएर भक्तिभाव दर्शाउँदा मनोकामना पूरा हुने जनविश्वास रहेकाले यहाँ हजारौँ भक्तजन पूजा गर्न तथा भाकल बुझाउन आउने गरेका छन्। समुद्री सतहदेखि १ हजार ९ सय मिटर उचाइमा रहेको चिसो स्थान भएकाले गर्मी छल्न रौतापोखरी उत्तम गन्तव्यका रूपमा आकर्षक बन्दै गएको छ। फराकिलो नागी र खुला चौरबाट झण्डै १ हजार मिटर उचाइमा रहेको पोखरी र मन्दिरसम्म भक्तजनहरू पैदल सिँढी चढेर पुग्नुपर्छ।

पोखरी र मन्दिरभन्दा माथिल्लो भेगमा बाक्लो जंगलबीच ५ किलोमिटर दूरीमा घुम्न मिल्ने सिँढीयुक्त चक्रपथ निर्माण गरिएको छ। सो चक्रपथमा हरेक १ किलोमिटर दूरीमा शिव, किराती राजा यलम्बर, लक्ष्मी, काली र सरस्वतीका मन्दिर निर्माण गरिएका छन्। चक्रपथ क्षेत्रमा ठाउँ–ठाउँमा विश्राम स्थल तथा वनभोज स्थलहरू निर्माण गरिनुका साथै टहलिन र गफिन मिल्ने स्थान बनाइएकाले भक्तजन तथा पर्यटकलाई सहज भएको छ।

धार्मिक दृष्टिकोणले रौतापोखरी पुग्ने भक्तजनले सुन्दर प्राकृतिक दृश्यावलोकनको आनन्द लिन पाउँछन् भने घुमफिरका लागि आउने पर्यटकले पूजा–आराधना तथा मन्दिर दर्शन गर्दै धार्मिक आकर्षण पनि अनुभूति गर्छन्।

विगत वर्षहरूमा स्थानीय संघसंस्थाले नयाँ वर्षको अवसरमा एकदिने मेला आयोजना गर्दै आएकोमा यस वर्ष गाउँपालिकाले छिमेकी त्रियुगा नगरपालिकासँग साझेदारी गर्दै ५ दिने महोत्सवको रूप दिएको छ। त्यसका कारण यसपटक कार्यक्रम भव्य जमघटका साथ भइरहेको छ।

स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरूको प्रस्तुति रहेको महोत्सवमा १ हजार वटा स्टल प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्। स्टलहरूमा स्थानीय तथा परम्परागत खानाका परिकारदेखि कृषि उत्पादन तथा बाह्य उपभोग्य सामग्रीको बिक्री–वितरण भइरहेको आयोजक साझेदार त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटले जनाएको छ। महोत्सव संयोजक दिनेश श्रेष्ठका अनुसार जिल्लाको पर्यटन प्रवर्द्धन तथा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

रौतापोखरीमा पर्यटन तथा धार्मिक सम्भावना प्रशस्त भए पनि आवश्यक प्रचारप्रसार अभावका कारण यो स्थान लामो समयदेखि ओझेलमा परेको होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेबिड बस्नेतले बताए। उनका अनुसार धार्मिक आस्थासँग पर्यटकीय सम्भावनालाई जोड्दै क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले यस वर्षदेखि सामूहिक प्रयासमा महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा उद्घाटनदेखि नै सहभागीहरूको बाक्लो भीड देखिएको स्थानीय होटल व्यवसायीहरू बताउँछन्। रौतास्थित दरबार होटल व्यवसायी कमल मगरका अनुसार महोत्सव सुरु भएदेखि नै बढेको भीड नयाँ वर्षका दिन झनै दोब्बर भएको छ। रौतापोखरी क्षेत्रमा रहेका २ वटा ठूला होटल, केही होमस्टे र अन्य साना गरी करिब २५ वटा होटल पूर्ण रूपमा भरिभराउ भएका छन्।

स्थानीयका अनुसार नयाँ वर्षमा सँधै मेला लाग्ने र यसपटक व्यापक प्रचारप्रसार भएकाले धेरै भक्तजन तथा पर्यटक आएका हुन्।

आइतबार प्रदेश पर्यटनमन्त्री भिम पराजुलीले उद्घाटन गरेको महोत्सव अवलोकन गर्न नयाँ वर्षका दिन प्रदेशसभा उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगर उपप्रमुख महेश्वरी राईलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि सहभागी भएका छन्। बिहीबार सम्पन्न हुने महोत्सवको समापनमा मायाको चिनो वितरण तथा खेलकुदका विजेतालाई पुरस्कार प्रदान गर्न बुधबार प्रदेश सरकारका पूर्वाधार विकास मन्त्री प्रदिप सुनुवार आउने कार्यक्रम रहेको छ।

नयाँ वर्षका दिन मात्र २५ हजारभन्दा बढी भक्तजन तथा पर्यटकको आगमन भएको आयोजक सदस्य टेकराज रिखाम मगरले बताए। उनका अनुसार महोत्सवमा पूर्वमा झापादेखि पश्चिम जनकपुरसम्म तथा उत्तरका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, धरान, सुनसरी, सिराहा, सप्तरी र विराटनगरबाट उल्लेख्य संख्यामा भक्तजन तथा आन्तरिक पर्यटक आएका छन्। तराई क्षेत्रका बजारबाट व्यापारी–व्यवसायीहरू पनि महोत्सवमा सहभागी भएका छन्।

एकै दिन दुई हजारभन्दा धेरै पूजा

नयाँ वर्षका दिन मात्र रौतामाई मन्दिरमा भक्तजनले २ हजारभन्दा बढी पाठा बलीसहित पूजा गरेका छन्। बिहान ३:०० बजेदेखि सुरु भएको भक्तजनको भीड साँझ ६ बजेसम्म कायम रहेको स्थानीयले बताएका छन्।

सामान्य अवस्थामा एकजना मात्र पुजारीले पूजा गर्दै आएकोमा महोत्सव अवधिमा दुईजना पुजारीले पनि नपुगेर थप ४ जना सहयोगी राख्नुपरेको छ। मन्दिर मात्र नभई गणेश, काली भगवती, लक्ष्मी, शिव र सरस्वती मन्दिरमा पनि पुजारीको व्यवस्था गरी भक्तजनलाई सहजीकरण गरिएको रौतामाई गाउँपालिका–६ का वडाध्यक्ष पृथ्वीबहादुर राईले जानकारी दिए।

उनका अनुसार प्रत्येक वर्ष नयाँ वर्षमा भीड लाग्ने भए पनि यस वर्ष झण्डै ५ गुणा बढी भक्तजन तथा पर्यटक आएका छन्। यसअघि रौतामाई धार्मिक संस्थाले सामान्य मेला आयोजना गर्ने गरेकोमा यस वर्ष गाउँपालिका, त्रियुगा नगरपालिका, प्रदेश सरकार तथा उद्योग वाणिज्य संघ र व्यवसायीहरूको सहकार्यमा भव्य महोत्सव आयोजना गरिएको हो।

महोत्सवको अवसरमा प्याराग्लाइडिङ र राफ्टिङ सञ्चालन गर्ने योजना रहे पनि हुस्सु र कुहिरोका कारण सम्भव हुन सकेन। नयाँ वर्षको पहिलो सूर्योदय अवलोकन गर्ने इच्छा बोकेका पर्यटकले पनि मौसम प्रतिकूलताका कारण निराश हुनुपरेको पर्यटन व्यवसायी डेबिड बस्नेतले बताए।

रौतापोखरी क्षेत्रमा केहीबेरमै हुस्सु लाग्ने, केहीबेरमै घाम लाग्ने तथा छिनछिनमै कुहिरोले ढाक्ने परिवर्तनशील मौसमले यहाँको प्राकृतिक अनुभवलाई अझै विशिष्ट बनाउने गरेको छ।

प्रकाशित: १ वैशाख २०८३ २१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App