ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाको विकास, सम्भावना, समस्या र नागरिकको पिरमर्का बुझ्न ‘सिदिङ्वा संवाद’ कार्यक्रम गर्ने भएको छ।
पालिकाले प्रत्येक टोलबस्तिमै पुगेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिए।
टोलबस्तीमा पुगेर नागरिकका समस्या सुन्ने, विकास निर्माणको अवस्था बुझ्ने, गुनासो ग्रहण गर्ने र आगामी बजेटमार्फत उक्त समस्या समाधानका लागि योजना बनाउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उनले बताए।
पालिकाले समस्याको पहिचान गरी समाधानका उपायहरूको खोजी गर्न यस्तो बहस अघि सारेको हो। टोलबस्तीमा पुगेर नागरिकमाझ गरिएका छलफल तथा सुझाव संकलनपछि त्यसको उचित सम्बोधनका लागि पालिकाले योजना बनाउने तयारी गरेको छ। यसबाहेक पालिकाले देशविदेशमा रहेका सिदिङ्वाबासीलाई सिदिङ्वाको विकास, सम्भावना र समस्याबारे पालिकाको आधिकारिक सञ्जालमार्फत समेत सुझाव दिन आग्रह गरेको छ।
संसारभर छरिएर रहेका सिदिङ्वाबासीलाई सिदिङ्वाको विकास र सम्भावनाको हिस्सेदार बनाउँदै समस्या समाधानका उपायहरू सुझावको रूपमा ग्रहण गर्ने गरी सुझाव माग गरिएको पालिकाले जनाएको छ। सिदिङ्वाले यस्तो संवाद कार्यक्रमलाई बौद्धिक बहस गर्ने थलोको रूपमा उपयोग गर्ने जनाएको छ।
प्रकाशित: २७ फाल्गुन २०८२ १३:११ बुधबार





