त्रियुगा नगरपालिका ४ बगाहा शान्तिचोकमा भएको दुर्घटनाका घाइते चार जनाको थप उपचारका लागि विराटनगर पठाइएको छ । घाइते १२ जना चार जनाको अवस्था गम्भीर भएकाले प्रारम्भिक उपचारपछि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ । सात जना डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको जिल्ला अस्पताल गाईघाटमा उपचार भईरहेको छ ।
त्रियुया नगरपालिका ११ संगम टोलकी ६० वर्षीया रामकुमारी राई, त्रियुगा-२ खैजनपुरका ७७ वर्षीय खड्गबहादुर खड्का, सोही वडाका ५० वर्षीय नरबहादुर खत्री तथा त्रियुगा ७ चुहाडेका २२ वर्षीय केबल ठकुरीलाई विराटनगर रिफर गरिएको अस्पतालले जनाएको छ ।
त्रियुगा नगरपालिका ११ संगमटोलका ७४ वर्षीय पूर्णबहादुर राई, सोही ठाउँकी १७ वर्षीया प्रजिता बिक, जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका २ का ४५ वर्षीय तीर्थ घिमिरे, सप्तरीको सुरुङ्गा नगरपालिका १ का २७ वर्षीया चन्द्रमाया चौधरी, उनकै छोरी ४ वर्षीया एरिना चौधरी र काठमाडौं गोकर्णेश्वर नगरपालिका २ का ४४ वर्षीय शम्भुराज पोखरेलको डिस्चार्ज भएको छ ।
त्रियुगा नगरपालिका १२ का ४४ वर्षीय ज्ञानेन्द्र बिक र चालक सप्तरीको हनुमाननगर नगरापलिका स्थायी घर भई त्रियुगा नगरपालिका ३ मोतिगडा बस्दै आएका २६ वर्षीय उपेन्द्र साह जिल्ला अस्पतालमै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गाईघाटदेखि लाहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्वरको विङ्गर सगरमाथा लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ४ बगाहा शान्तिचोकमा अनियन्त्रित भई सडकछेउको सिमेन्ट पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।
प्रकाशित: २४ कार्तिक २०८२ १५:१६ सोमबार





