लमहीमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका-१३ चौधेरा निवासी चेतबहादुर केसीको सो दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश एए८५९८ नम्बरको सरकारी मोटरसाइकललाई आज साँझ करिब ६ः३० बजे लमही नगरपालिका-१ सुनडबरीमा ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते भएका थिए।
घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमल्सिनाको नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्याएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ। केसीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। केसी लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत रहेको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: २३ आश्विन २०८३ २१:५१ शुक्रबार





