चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।
बैठकले लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन र आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ। फुङलिङमा सम्पन्न बैठकले लागुऔषध, अवैध चोरी निकासी लगायत सबै प्रकृतिका आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै जिल्लाबिच आपसी समन्वय र सहकार्य गर्ने निर्णय लिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए।
साथै, बैठकले विपद्को समयमा सीमावर्ती पालिका तथा समग्र जिल्ला स्तरमा सूचना र समन्वयका आधारमा उपलब्ध जनशक्ति तथा अन्य स्रोत साधनको प्रयोग गरी विपद् प्रतिकार्यसम्बन्धी कार्य गर्ने सहमति समेत कायम गरेको छ।
चीनसँगको सीमा क्षेत्रको नाका प्रयोग गरी हुन सक्ने सम्भावित अवाञ्छित क्रियाकलापका बारेमा दुवै जिल्लाले सूचना आदान-प्रदान तथा समन्वय गर्ने, जिल्ला प्रवेश हुने सीमानाका क्षेत्रहरूमा आपसी समन्वय गरी आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सूचना आदान-प्रदान गर्ने सहमति समेत भएको छ।
ताप्लेजुङ र संखुवासभा दुवै जिल्लाको सीमा जोडिएको छ भने दुवै जिल्ला मित्र राष्ट्र चीनसँग सीमा जोडिएका छन्। बैठकमा ताप्लेजुङ र संखुवासभाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्थित सुरक्षा अधिकारी सहभागी थिए।
प्रकाशित: २७ कार्तिक २०८३ १९:३५ शुक्रबार


-600x400.jpg)


