१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

पाँच दिनदेखि बेपत्ता सेनाका सहसेनानी रामराजाको खोजी जारी

रसुवाको मैलुङस्थित आर्मी शेरगण चेकपोस्टको कमाण्ड सम्हाल्न पुगेका नेपाली सेनाका सहसेनानी रामराजा रिमाल भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन् ।

भदौ ५ गते काठमाडौंबाट  सरुवा भएर रसुवा पुगेका रिमाल भदौ १० गते बिहान करिब ९ बजेर ९ मिनेटको समयमा परिवारको सम्पर्कमा आएका थिए । त्यसपछि भने उनको कुनै खबर नभएको उनकी श्रीमती मीना थापाले बताएकी छन् ।

बाढी आएको समयदेखि नै सम्पर्कविहीन रहेका रिमालको खोजीका लागि परिवार तथा सुरक्षाकर्मीले प्रयास गरिरहेका छन् । केही दिनदेखि रसुवाका विभिन्न क्षेत्रमा खोजी गरिए पनि उनको अवस्था पत्ता लाग्न नसकेको परिवारले जनाएको छ ।

हाल अध्ययनका लागि दक्षिण कोरियामा रहेकी उनकी छोरी मन्दिरा रिमालले सामाजिक सञ्जालमार्फत बुबाको खोजीमा सहयोग गरिदिन भावुक अपिल गरेकी छन् । रुँदै बुबाको अवस्था पत्ता लगाउन आग्रह गरेको उनको भिडियो तथा सन्देश सामाजिक सञ्जालमा फैलिएको छ । त्यसपछि सामाजिक सञ्जालमार्फत समेत रिमालको खोजीका लागि पहल भइरहेको छ ।

रिमालका जुम्ल्याहा छोरा छन् ।  उनीहरू एसईई दिने तयारीमा छन् । उनको हालको बसोबास काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा रहेको छ भने पुर्ख्यौली घर त्रिशूली हो ।

रिमालको खोजीका लागि उनका भाइ रामचन्द्र (आरसी) रिमालसमेत सक्रिय भएका छन् । रसुवा क्षेत्रमा केही दिन खोजी गर्दा पनि रिमालको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि आरसी रिमालसहितको टोली अहिले हेटौंडा पुगेको छ । टोलीले हेटौंडाबाट समेत खोजीलाई निरन्तरता दिने तयारी गरेको परिवारले जनाएको छ ।

भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसहित सर्वसाधारणसमेत सम्पर्कविहीन भएका छन् ।  रिमाल पनि बाढीको समयमा ड्युटीमै रहेका बेला सम्पर्कविहीन भएको परिवारको भनाइ छ।

प्रकाशित: १४ भाद्र २०८३ १६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App