गर्मी अत्यधिक रूपले बढेपछि नेपालगन्जका विद्यालय बन्द गरिने भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएको हो।
उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले भोलि (जेठ २६ गते)देखी २९ गते सम्म सामुदायिक, संस्थागत र धार्मिक विद्यालय बन्द गर्न निर्देशन दिएका हुन्।
अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीहरुलाई विद्यालय आवतजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक र जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालाहरूको सुझावका आधारमा आधारभूत तथा माध्यमिक तहका सम्पूर्ण कक्षाहरूको पठन पाठन बन्द हुने गरी गर्मी बिदा गरिएको सूचनामा उल्लेख छ।
उक्त समय अवधिमा विद्यार्थीहरुलाई गृहकार्यको व्यवस्था गरी विद्यार्थीहरुको स्वः अध्ययन व्यवस्थित गर्नका लागि आवश्यक सहजीकरण गर्न भनिएको छ।
प्रकाशित: २५ जेष्ठ २०८३ १५:०० सोमबार





