धनगढी उपमहानगरपालिकाले ‘आमा बचाउ’ अभियान सञ्चालनमा ल्याएको छ । गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले उपमहानगरले ‘आमा बचाउ’ अभियान सञ्चालनमा ल्याएको हो ।
यो अभियान पालिकामा प्रभावकारी पनि बन्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को मङ्सिर महिनादेखि उपमहानगरले सञ्चालनमा ल्याएको सो अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुँदै आएका छन् । सो अभियानबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा दुई सय ३३ जना महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएका उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । उनले आमा र शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी सञ्चालन गरिएको ‘आमा बचाउ’ अभियानमा उक्त अवस्थाका महिलालाई अस्पतालसम्म पुर्याउन उपमहानगरले चार वटा एम्बुलेन्सबाट निःशुल्क सेवा सञ्चालन गरेको छ ।
अवस्थीले भने, ‘ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारीसाधन पाइँदैन । यसैलाई मध्यनजर गरेर यो अभियान सञ्चालन गरिएको हो ।’
गत आर्थिक वर्ष २०८१/८२ मा सो अभियान अन्तर्गत पाँच सय ८० जनाले निःशुल्क एम्बुलेन्स सेवा लिएको उनले जानकारी दिए ।
प्रकाशित: ६ पुस २०८२ १६:४३ आइतबार





