रसुवाको मैलुङस्थित ‘त्रिशूली–३ ए’ जलविद्युत् आयोजनामा श्रीमान् फसेको खबर पाएपछि नुवाकोटको गेर्खुटारकी शशीकला खतिवडा बुधबार बिहानैदेखि त्रिशूलीस्थित सैन्य ब्यारेक पुगेकी थिइन्। उद्धारको पर्खाइमा उनी बिहीबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म त्यहीँ बसिरहिन्।
नागरिककर्मीसँग कुराकानी गर्दै शशीकलाले उनका श्रीमान् त्रिशूली–३ ए जलविद्युत् आयोजनाभित्र फसेको बताइन्। उनका अनुसार उक्त आयोजना रसुवाको मैलुङस्थित शान्तिबजार छेउमा छ।
बुधबार दिउँसो करिब ४ बजे आयोजनाको हेडअफिसमा श्रीमानसहित ३५ जना फसेको सूचना आएको उनले बताइन्। त्यसपछि श्रीमानले आफूहरू फसेको र तत्काल उद्धार गर्न आग्रह गर्दै म्यासेज पठाएको शशीकलाको भनाइ छ।
‘मेरो श्रीमान् त्रिशूली–३ ए हाइड्रोमा फस्नुभएको छ। यो हाइड्रो रसुवा मैलुङको शान्तिबजार छेउमा छ,’ उनले भनिन्, ‘बुधबार दिउँसो चार बजे हेडअफिसमा म्यासेज आएको थियो। त्यो म्यासेजमा श्रीमान्सहित ३५ जना फसेको भन्ने सूचना थियो।’
श्रीमानले आफूहरू अँध्यारोमा फसेको र अगाडिको गेटसमेत थुनिएको भन्दै उद्धारका लागि आग्रह गरेको उनले बताइन्।
‘हामी भित्र फसेका छौँ, हामीलाई निकाल्नुपर्यो भनेर आफ्नै श्रीमानले हेडअफिसको ग्रुपमा म्यासेज लेख्नुभएको रहेछ,’ शशीकलाले भनिन्, ‘अगाडिको गेट टालिएको छ। अन्धकारमा छौँ। चाँडो उद्धार भयो भने बाँच्छौँ।’
श्रीमानसहित आयोजनाभित्र फसेका ३५ जनाको अवस्थाबारे जानकारी लिन र उद्धारका लागि पहल होस् भन्ने आशामा उनी दिनभर सैन्य ब्यारेकमा कुरिरहेकी थिइन्। तर, साँझसम्म पनि श्रीमानको अवस्थाबारे यकिन जानकारी नपाएपछि उनको चिन्ता झनै बढेको थियो।
आफन्तको अवस्था थाहा नहुँदा उद्धारको प्रतीक्षामा बस्नुपरेका परिवारका लागि प्रत्येक घण्टा भारी बन्दै गएको छ। शशीकलाले भनिन्, ‘आयोजनाभित्र फसेकाहरूलाई तत्काल उद्धार गरियोस् र मेरो श्रीमानसहित सबैको अवस्था यथाशीघ्र जानकारी दिइयोस्।’
प्रकाशित: १२ भाद्र २०८३ १५:५६ शुक्रबार





