१६ असार २०८३ मंगलबार
image/svg+xml
समाज

तलब बढाउन माग गर्दै आन्दोलनमा उत्रिए सफाई कर्मचारी

तलब र सेवा सुबिधाको माग गर्दै वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले  प्रदर्शन गरेका छन्।

प्रदर्शनको क्रममा सफाइ  कर्मचारीहरूले वीरगन्ज महानगरीयको कार्यालयको मुख्य प्रवेशद्वार, घण्टा घरलगायत शहरका विभिन्न स्थानमा फोहोर थुपारेर विरोध प्रदर्शन गरेका थिए।

मुख्य चोकहरूमा फोहोर थुपारेर विरोध प्रदर्शन गर्दा केही समयका लागि आवागमन समेत प्रभावित भएको थियो । उनीहरुको विरोध प्रदर्शनपछि महानगरको सरसफाइ व्यवस्थापनसमेत प्रभावित बनेको छ।

आन्दोलनरत कर्मचारीहरूले दैनिक ज्याला कम्तिमा एक हजार रुपैयाँ तथा मासिक पारिश्रमिक ३० हजार रुपैयाँ कायम गर्नुपर्ने माग गरेका छन्।    ठेकेदारमार्फत प्रति महिना ६ हजारदेखि ९ हजार मात्रै पाउने गरेको उनीहरुको आरोप थियो। हाल प्राप्त पारिश्रमिकले दैनिक जीवनयापन गर्न कठिन भएको उनीहरूको भनाइ छ।

उनीहरूले प्रत्येक महिनाको १० गतेभित्र अनिवार्य रूपमा तलब भुक्तानी गर्नुपर्ने, श्रम ऐनअनुसार सातामा एक दिन साप्ताहिक बिदा सुनिश्चित गर्नुपर्ने तथा छठ र होलीजस्ता प्रमुख सांस्कृतिक पर्वमा विशेष बिदाको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेका छन्।

सफाई कर्मचारीहरुको वीरगन्जको मुख्य स्थानहरुमा फोहोर फालेर बिरोध गरे पछि प्रहरीले उनीहरुलाई रोक्न खोजेको थियो।

प्रकाशित: १४ असार २०८३ १६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App