काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेका छन्।
राष्ट्रपति पौडेलले सोमबार नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान र भद्रकालीलगायत शक्तिपीठ पुगेर पूजाआजा गर्नुका साथै टीका र प्रसाद ग्रहण गरे।
बडादसैँको महाअष्टमीका दिन शक्तिस्वरूपा देवीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ। यस अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ।
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले हरेक वर्ष बडादसैँका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ।
प्रकाशित: २ कार्तिक २०८३ १६:५२ सोमबार





