१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

साकेलामा सुरु भयो अनलाइन नागरिकता सिफारिस

खोटाङको साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसको काममा अनलाईन प्रणाली सुरु गरेको छ । परम्परागत म्यानुअल (कागजी हस्त लिखित) प्रणालीलाई विस्थापित गर्दै अनलाईन प्रणालीमा नागरिकता सिफारिस सुरु गरिएको हो ।

गृह मन्त्रालय अन्तर्गतको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यस्तो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा गएर निवेदन दिएपछि, वडा कार्यालयले सेवाग्राहीको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गरि सिफारिस गर्ने थालनी भएको छ ।  

यो प्रणाली अनुसार अनलाईनमा प्रविष्ट कागजातका आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र सेवाग्राहीलाई उपलब्ध गराउने छ । गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले अनलाईन प्रणालीको सुरुवातपछि ढाँट छल र नक्कली तरिकाले नागरिक्ता प्रमाणपत्र वितरणको जोखिम कम हुने बताए । यसले नागरिकता वितरण गर्दा सिफारिस प्रक्रियामा पारदर्शी र एकरूपता आउनुका साथै समयको बचत हुने बताए ।  

नागरिकता वितरणमा अनलाईन प्रणाली लागू भएसँगै गाउँपालिकाको सबै प्रशासनिक कामकाज डिजिटलाईज गर्ने अध्याय सुरु भएको पनि अध्यक्ष राईले बताए । ‘हामी पेपरलेस र पूर्ण प्रविधिमैत्री गाउँपालिका बनाउने योजनामा छौँ’ अध्यक्ष राईले भने ‘सबै काम प्रविधि मार्फत गरेर साकेलालाई ‘डिजिटलाईज्ड गाउँपालिका’ बनाउने कार्यमा लागेका छौँ ।’  

गाउँपालिकाले यसअघि व्यक्तिगत घट्नादर्ता र आर्थिक कारोबारमा प्रविधिमैत्री काम लागू गरिसकेको छ । दुईवर्षअघि नै जन्म, मृत्यु, बसाईसराई, बिवाह दर्ता र सम्बन्ध विच्छेदजस्ता पञ्जीकरण कार्य अनलाईन प्रणाली मार्फत गरिदै आएको छ । त्यसैगरी आर्थिक कारोबारमा सम्पूर्ण निकासा र भुक्तानी पनि अनलाईन प्रणालीबाटै गर्ने गरिएको छ ।  

गाउँपालिका प्रविधिमैत्री युगमा प्रवेश गरेकोमा सेवाग्राही पनि खुसी भएका छन् । ‘नागरिकता बनाउन आउका सेवाग्राहीहरु अनलाईनबाट काम गरेको देखेर खुसी छन्’ प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईले भने ‘गाउँपालिकाको यस्तो कदमले कर्मचारी र सेवाग्राही दुवै सजिलो तथा सुक्षित र जोखिममुक्त काम भएकाले सबैले खुसी मान्नु स्वभाविक हो ।’

प्रकाशित: ३ मंसिर २०८२ १९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App