जेन-जी आन्दोलनको नाममा मंगलबार भएको अराजक प्रदर्शन र आगजनीले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित राजधानीका दर्जनौं सरकारी संरचनालाई भग्नावशेषमा परिणत गरिदिएको छ।
हजारौंको संख्यामा रहेका अराजक समूहले सुरक्षा घेरा तोड्दै गरेको तोडफोड, आगजनी, चोरी र लुटपाटका कारण देशको प्रशासनिक कामकारबाही पूर्ण रूपमा ठप्प भएको छ।
आक्रमणको सबैभन्दा ठूलो मार देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारले खेपेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सडक विभाग र राष्ट्रिय सतर्कता केन्द्र लगायतका महत्त्वपूर्ण निकायहरूमा व्यापक क्षति पुगेको छ।
प्रधानमन्त्री कार्यालयमा नै आगजनी भएपछि त्यसलाई अस्थायी रूपमा गृह मन्त्रालयको नवनिर्मित भवनमा सारिएको छ।
सिंहदरबार बाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ भने यातायात व्यवस्था विभाग र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पनि ठूलो क्षति पुगेको छ।
त्यसैगरी, शिक्षा मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, संसद् भवन र सर्वोच्च अदालत समेत आक्रमणकारीको निशाना बनेका छन्। प्रदर्शनकारीहरूले राष्ट्रपति भवन शीतल निवासमा समेत आगजनी गरेका थिए।
शनिबार बिहानदेखि विभिन्न मन्त्रालयका कर्मचारीहरू आफ्नो कार्यालयको भग्नावशेषमा उपस्थित भई क्षतिको विवरण संकलन र सरसफाइमा जुटेका छन्। उनीहरूले जलेका र छरपस्ट भएका महत्वपूर्ण कागजात र सामग्रीहरूलाई सुरक्षित गर्ने प्रयास गरिरहेका छन्।
मन्त्रालय परिसरमा रहेका दर्जनौं सवारीसाधनहरू जलेर ध्वस्त भएका छन्।
सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक
प्रकाशित: २९ भाद्र २०८२ १६:४९ आइतबार

