१८ असार २०८३ बिहीबार
image/svg+xml
समाज

१८ वर्षमुनिका सदस्यबारे रास्वपाले भन्यो- अन्तिम सूची होइन, प्राविधिक त्रुटि भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको भनी सार्वजनिक तथ्याङ्कप्रति आधिकारिक स्पष्टीकरण दिँदै प्राविधिक तथा प्रशासनिक सुधारको प्रतिबद्धता जनाएको छ।

महामन्त्री विपिनकुमार आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै उक्त तथ्याङ्क अन्तिम प्रमाणित सदस्यता नभई प्राविधिक त्रुटिका कारण प्रणालीमा देखिन गएको प्रारम्भिक आवेदन विवरण मात्र भएको बताएका हुन्।

सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले बालबालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

‘बालबालिका सम्बन्धी ऐन, २०७५’ र ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३’ अनुसार १८ वर्ष पूरा भएको व्यक्ति मात्र साबालक र राजनीतिक दलको सदस्य हुन योग्य हुने कानुनी व्यवस्था छ। रास्वपाको आफ्नै विधानको दफा १३ (क) ले पनि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मात्र पार्टी सदस्य हुन पाउने व्यवस्था गरेको छ।

रास्वपाको डिजिटल प्रणालीमा दर्ता भएका कुल ५ लाख २३ हजार ४६५ सदस्यता आवेदनमध्ये हालसम्म ३ लाख ९० हजार ११२ सदस्यको मात्र नागरिकता लगायतका आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको छ।

बाँकी आवेदनहरू प्रमाणीकरणकै प्रक्रियामा रहेकाले प्रमाणीकरण नभएका प्रारम्भिक विवरणलाई अन्तिम र प्रमाणित सदस्यता अभिलेखका रूपमा बुझ्न नमिल्ने रास्वपाको भनाइ छ।

डिजिटल सदस्यता प्रणालीमा आवेदन दिने क्रममा आवेदकले जन्ममितिको सट्टा हालको मिति प्रविष्ट गर्दा वा वि.सं. र ई.सं. पात्रो प्रणाली गलत छनोट गर्दा उमेर वास्तविकभन्दा कम देखिएको प्रारम्भिक विश्लेषणबाट खुलेको छ।

‘हाम्रो डिजिटल सदस्यता प्रणालीमा सदस्यता आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति फरक-फरक प्रशासनिक तथा प्राविधिक चरणहरू हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘एप वा वेबसाइटमार्फत सदस्यताका लागि आवेदन दिँदैमा सदस्यता स्वीकृत भएको मानिँदैन।’

भविष्यमा यस्तो त्रुटि दोहोरिन नदिन रास्वपाले तत्काल चारबुँदे सुधारात्मक व्यवस्थाहरू कार्यान्वयन गर्ने घोषणा गरेको छ। जसअन्तर्गत १८ वर्षभन्दा कम उमेर देखिने विवरणलाई प्रणालीमार्फत स्वतः पहिचान गरी त्यस्ता आवेदनलाई सदस्यता स्वीकृतिको प्रक्रियामा अगाडि बढ्न नदिने प्राविधिक नियन्त्रण लागू गरिनेछ।

यसैगरी, प्रमाणीकरण भइसकेका अभिलेखहरूको समेत पुनः परीक्षण  गरी आधिकारिक कागजातसँग पूर्ण रूपमा मेल खाने सदस्यता अभिलेख मात्र कायम गरिनेछ।

यस प्रक्रियामा प्राविधिक वा मानवीय त्रुटिका कारण १८ वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइएमा त्यस्तो सदस्यता तत्काल खारेज गरिने विज्ञप्तिमा उल्लेख छ।

पात्रो प्रणालीसम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक सुरक्षा तथा प्रणालीगत मार्गदर्शन उपलब्ध गराइने र प्रमाणीकरण बाँकी रहेका सम्पूर्ण आवेदनको पुनः परीक्षण गरी कानुन र पार्टी विधानअनुरूप शुद्ध र अद्यावधिक तथ्याङ्क कायम गरिने रास्वपाले जनाएको छ।

पर्याप्त परीक्षण तथा प्रमाणीकरण सम्पन्न नहुँदै प्रारम्भिक आवेदन विवरणमा आधारित कच्चा तथ्याङ्क महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा भ्रम र अन्योल उत्पन्न भएकोमा रास्वपाले दुःख व्यक्त गरेको छ।

महाधिवेशनमा तत्कालीन महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा उल्लेखित तथ्याङ्कलाई लिएर संसद् र सरोकारवालाहरूले आलोचना गरेपछि पार्टीले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको हो।

रास्वपाले सम्पूर्ण विवरणको पुनः परीक्षण गरी संशोधित तथा अद्यावधिक तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधिको शासन, सुशासन, पारदर्शिता र प्रचलित कानुनको पूर्ण पालना गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ।

प्रकाशित: १७ असार २०८३ १९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App