२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

सञ्चार गृह बाहिर शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, तत्काल छानबिन गर्न गृहलाई आग्रह

विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ।

रास्वपाले यस घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र सञ्चार गृहहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार तथा गृह मन्त्रालयसँग माग गरेको छ।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा राज्यको चौथो अंगमाथि त्रास सिर्जना गर्ने उद्देश्यले भइरहेका यस्ता रहस्यमय गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताको ठाडो उल्लङ्घन भएको रास्वपाको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन्।’

स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै रास्वपाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता कदमहरूको भर्त्सना गरेको छ।

रास्वपाले यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न तथा सम्पूर्ण सञ्चारमाध्यमको भौतिक एवं मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ।

शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

सम्पूर्ण सञ्चार जगत्‌लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गर्दै रास्वपाले सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: २९ असार २०८३ १७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App