२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

आदिकवि भानुभक्त र घाँसीको शालिक तोडफोड गर्ने युवक पक्राउ

लमजुङको मध्यनेपाल नगरपालिकास्थित भानु घाँसी संवाद पार्क भित्र रहेका आदिकवि भानुभक्त आचार्य र प्रेरणादायी घाँसी खड्क बहादुर ठाडा मगरको शालिक तोडफोड गरेको अभियोगमा प्रहरीले तनहुँका ३४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक धुर्ब प्रसाद शर्माको कमान्डमा खटिएको टोलीले शुक्रबार कुँवरलाई पक्राउ गरेको हो।

तनहुँको व्यास नगरपालिका-७ स्थायी वतन भएका उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङ ल्याइएको छ। घटनाका सम्बन्धमा सम्मानित जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार राती करिब १०:३० बजेको समयमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं-४ दुईपिप्ले बगैंचास्थित रिस्ती खोला पुल नजिकै रहेको भानु घाँसी संवाद पार्क भित्र रहेका शालिकहरूमा अज्ञात व्यक्तिहरूले तोडफोड गरी क्षति पुर्‍याएका थिए।

घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले तोडफोडमा संलग्न कुँवरलाई नियन्त्रणमा लिएको हो।

प्रकाशित: ९ श्रावण २०८३ १८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App