रोल्पाको थवाङ गाउँपालिका-१ जलजलामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा हालसम्म ज्यान गुमाउनेको संख्या २० पुगेको छ।
रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप सडकबाट करिब ८ सय मिटर तल भिरमा खसेको थियो।
नेपाल प्रहरीका अनुसार साँझ ५ बजेसम्मको प्राप्त विवरण अनुसार घटनास्थलमै २० जनाको ज्यान गएको पुष्टि भएको छ। दुर्घटनामा परेकाहरूको उद्धार कार्य अहिले पनि जारी रहेको छ।
भोलि जलजलामा लाग्ने धार्मिक मेला भर्न जाँदै गरेका श्रद्धालुहरू सवार सो जिप सडकबाट निकै तल खसेकाले उद्धारमा कठिनाइ भएको छ। घटनास्थलमा भइरहेको भारी वर्षा र कठिन भूगोलका कारण उद्धार टोलीलाई समस्या परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनील थापाका अनुसार दुर्घटनाको प्रकृति निकै गम्भीर छ। ‘हामी अहिले उद्धार कार्यमै केन्द्रित छौँ,’ उनले भने, ‘भौगोलिक विकटता र वर्षाका कारण घाइते तथा मृतकको पहिचान गर्ने कार्यमा ढिलाइ भइरहेको छ।’
प्रकाशित: १७ वैशाख २०८३ १९:०८ बिहीबार





