प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विपद्का समयमा जनधनको क्षति न्यूनीकरण गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
शुक्रबारदेखि परेको अविरल वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि नागरिकलाई समयमै सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका विशेष रहने उनले बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आईजीपी कार्कीले वर्षा, सम्भावित हावाहुरी तथा त्यसले सिर्जना गर्न सक्ने जोखिम न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।
विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न सक्रिय रहने बताउँदै उनले यसका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको निरन्तर साथ, सहयोग र सहकार्य अपेक्षा गरेको बताएका छन्।
‘यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उनले भनेका छन्।
कार्कीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्दै सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपुग्ने वातावरण बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्।
विपद्को समयमा अफवाह फैलिन नदिन र नागरिकलाई जोखिमबारे सचेत गराउन तथ्यमा आधारित सूचना सम्प्रेषण आवश्यक रहेको उनको भनाइ छ । साथै, विपद्को असर कम गर्न सबै पक्षबीच अभूतपूर्व सहकार्य गर्न उनले आह्वान गरेका छन्।
प्रकाशित: १४ कार्तिक २०८३ १०:४६ शनिबार





