१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

वर्षापछिको बाढी पहिरोले अवरुद्ध सडक अझै खुलेनन्

सिद्धिचरण लोकमार्गमा फसेको ट्रक निकाल्न जुटेका स्थानीय ।

लगातारको वर्षाले भत्किएका उदयपुरका सडक अझै सञ्चालनमा आउन सकेका छैनन । गाईघाट दिक्तेल सगरमाथा लोकमार्गको उदयपुरतर्फ विभिन्न ठाउँमा पहिरो गएर सडक सुचारु हुन नसकेको स्थानीयले बताएका छन् ।  

गाईघाटदेखि फोक्सिन्टारसम्मको खण्डमा दर्जन हाराहारी ठाउँ पहिरो जानुकमा साथै भत्के बिग्रेको कारण यातायात राम्ररी सुचारु हुन सकेको छैन । बिग्रेको सडक मर्मत कार्य गर्दै सुचार गर्ने काम भईरहेको सडक योजना कार्यालय उदयपुरले जनाएको छ । खोटाङतर्फ पनि उत्तिकै ठाउँ वर्षाले सडक बिगारेकाले याताायत सञ्चालनमा असहज भईरहेको छ ।  

उदयपुर र खोटाङ जोड्ने सीमानाका सुन नदीको फोक्सिन्टारस्थित पक्की मोटरेबल पुल गतवर्षको असोज १२ गते रातिकै बाढीले भत्काएसँगै दुई जिल्लाको सोझो यातायात सम्पर्क बिच्छेद भएको थियो । वर्षदिनअघि मात्र सञ्चानलमा आएको पुल बाढीले भत्काएपछि अर्को पुल बनाउन नसक्दा दुवै जिल्लामा रसुवाघाटसम्मा एकतर्फी गाडीहरु चलाउनु परेको छ ।  

उदयपुरतर्फ गाईघाट–फोक्सिन्टार खण्ड ४८ किलोमिटर र खोटाङतर्फ फोक्सिन्टार–माहुरे खण्ड ५१ किलोमिटर गरि १ सय १ किलोमटिर दूरीको सगरमाथा लोकमार्ग फोक्सिन्टारको पुल भत्केपछि यताका गाडीहरु रसुवा वारि र खोटाङ पारिसम्म मात्र चल्न बाध्य छन् । गाईघाटबाट जाने गाडीका यात्रुहरु फोक्सिन्टारदेखि डेढ किलोमिटर उत्तर एकतर्फी रसुवाघाट पुगेर झोलुङ्गे पुल तर्दै खोटाङतर्फ जानुपर्ने बाध्यता छ ।  

तर, फोक्सिन्टार–रसुवा बीचमा पर्ने लाँकुरी खोलाले पनि वर्षामा निकै दुःख दिने गरेको यातायात व्यवसायीहरु बताउँछन् । सो खोला ठाडो र भिरालो भएकाले सानोतिनो वर्षाकै बाढीले गाडी नै बगाउने खतरा छ । यो वर्षामा लाँकुरी खोलाका कारण फोक्सिन्टार–रसुवा खण्डको सडक पूर्णतः ठप्प भएको स्थानीले बताएका छन् ।  

रसुवासम्मकै गन्तव्य बनाउने दिक्तेलदेखि आउने गाडीहरुलाई पनि विभिन्न ठाउँमा भत्केको सडकको सामना गर्नुपरेको छ । रसुवादेखि दिक्तेलसम्मको दूरीमा रेग्मीटारदेखि राजापानीसम्म ठिकठिकै सडक भए पनि राजापानीदेखि बुईपासम्मको दूरी निकै गएगुग्रेको भएकाले कठिनाई हुने गरेको चालकहरु बताउँछन् । उनीहरुका अनुसार राजापानी–बुईपा खण्डको पनि बुईपा–माला खण्ड धेरै खाल्डाखुल्डी र हिलाम्य हुने भएकाले साह्रै अप्ठेरो हुने गरेको छ ।  

उदयपुरकै पश्चिमी भेगको सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड धेरै बिग्रेका कारण यातायात ठप्प छ । उसै अप्ठेरो र जिर्ण सडक लगातार ४ दिनको वर्षाले दर्जन बढी ठाउँमा पहिरो गएर पुर्नुका साथै भत्काएका कारण ५ दिनयता यातायात अवरुद्ध भएको स्थानीय बताउँछन । सो खण्डमा यातायात अवरुद्ध नहोस् भनेर कटारी–घुर्मी सडक योजना कार्यालयले हेरालु तैनाथ राखेको भए पनि लगातार वर्षाले पहिरो गईरहने ठाउँमा खटेर काम गर्न जोखिम छ ।  

पहाडी भेग र कच्ची सडक भएकाले वर्षा नहुँदा पनि कतिबेला कहाँ पहिरो जान्छ ठेगान नहुने सो लोकमार्गमा वर्षा भएपछि थप काम गर्न जोखिम हुने सडक हेरालु कुमार प्याकुरेल बताउँछन् । उनका अनुसार कटारी–घुर्मी ४७ किलोमिटर खण्डमा आधादर्जन हेरालु कामदार कार्यरत रहेको तर, ठाउँठाउँमा पहिरो जाने तथा बिग्रने भत्कने सडक भएकाले एकैछिन फुर्सद मिल्दैन ।  

वर्षा रोकिएपछि हल्का चल्न थालेको यातायात पहिरो खस्ने क्रम नरोकिएका कारण बीच बाटोमै अलपत्र पर्न थालेका छन् । पानी रोकिएपछि सडक चल्ने अनुमानले हिडेको एउटा मालबाहक ट्रक पहिरो खसेर जमेको हिलोमा फसेर दिउसोदेखि बीच सडकमै अलपत्र परेको प्याकुरेलले बताए । उनका अनुसार ट्रक चालक, सहचालक, सडक हेरालु तथा स्थानीय र प्रहरी जुटेर ३/४ घण्टाको मर्मतपछि साँझमा बल्ल फसेको ट्रक निस्केर अघि बढेको छ ।  

लगातारको वर्षाले जिल्लाका पहाडी भेगका सबैजसो सडकहरु अवरुद्ध भएकोमा केही सुचारु भएका छन् भने अधिकतर अझै चल्न सकेका छैनन् । पहाडी सडकहरु सबै कच्ची र बिना इन्जिनियरिङ खनिएका कारण भत्कने बिग्रने र मर्मत गर्न नमिल्ने समस्या रहेकाले पनि सामान्य वर्षाल नै यातायात अवरुद्ध गर्ने गरेको चालकहरु बताउँछन् ।  

 

प्रकाशित: १६ कार्तिक २०८२ २०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App